सुर्खेत । नेपाल पत्रकार महासंघले रुकुम पूर्व शाखा सहसचिव विक्रम परियारको निधनप्रति दुःख व्यक्त गरेको छ।
यही चैत ५ गते रुकुम पूर्वबाट काठमाडौं आउनेक्रममा बागमती प्रदेश ०१ ००६ ख ३८७९ नम्बरको यात्रुवाहक बस बागलुङको निसिखोला गाउँपालिमा दुर्घटना हुँदा पत्रकार परियारसहित ८ जनाको घटनास्थलमा मृत्यु भएको थियो।
महासंघका अनुसार २२ वर्षीय पत्रकार परियार विगत ४ वर्षदेखि पत्रकारितामा सक्रिय थिए। उनी अन्नपूर्ण पोस्ट दैनिक, हिमालय टेलिभिजन र रेडियो पूर्वी रुकुममा संवाददाताका रुपमा कार्यरत थिए।

पत्रकार परियारको निधनले नेपालको पत्रकारिता क्षेत्रले एक उर्जाशील पत्रकार गुमाएको महासंघले जनाएको छ।

महासंघ दुर्घटनामा परी दुःखद निधन भएका पत्रकार परियार सहित दिवंगत सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ।
साथै, महासंघले शोकको घडीमा रहेका परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

नेपाल कर्म । ६ चैत्र २०८०, मंगलवार १६:४०