रारामा वैशाखमा प्रदेशस्तरीय कबड्डी खेल हुने

सुर्खेत । जिल्ला खेलकुद विकास समितिले वैशाख ११ देखि १५ गते रारामा पहिलो पटक प्रदेशस्तरीय खुल्ला महिला तथा पुरुष कबड्डी खेल सञ्चालन गर्ने भएको छ।



कर्णाली प्रदेश राजधानी सुर्खेतमा हुने राष्ट्रिय खेलकुदलाई लक्षित गरी पर्यटकीयस्थल रारामा कर्णाली प्रदेश अन्तर्गत १० वटै जिल्ला सहभागी हुने गरी प्रदेशस्तरीय खुल्ला महिला तथा पुरुष कबड्डी खेल सञ्चालन गर्न लागिएको समितिका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले बताए।

अध्यक्ष मल्लका अनुसार उक्त खेल सञ्चालनको निम्ति जिल्लामा प्रदेश तथा संघीय सभासद, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि र खेलप्रेमीसँग व्यापक छलफल गरी तीव्र तयारी भइरहेको छ। रारामा आयोजित कबड्डी खेलमा छनौट भएका खेलाडीहरूले मात्र राष्ट्रिय कबड्डी खेलमा सहभागी हुन पाउने भएका छन्।

पर्यटकीयस्थल रारामा अहिलेसम्म कुनै प्रदेशस्तरीय खेलकुद सञ्चालन नभएको र कबड्डी खेल पर्यटन प्रवर्द्धधनमा थप टेवा पुर्‍याउने उनको भनाइ छ। रारामा हुने कबड्डी खेलको लागि जिल्ला खेलकुद विकास समितिले खेलाडी छनौट र प्रशिक्षण दिन तयारी थालेको छ।

जिल्ला सदरमुकाम गमगढीमा खेल मैदान तथा कबड्डी हलको सुविधा नहुँदा समितिले रारा मिलिचौरमा पहिलो पटक प्रदेशस्तरीय कबड्डी खेल सञ्चालन गर्न लागेको छ।

तपाईको प्रतिक्रिया