सुर्खेत । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कैलाली र बर्दिया जोड्ने कर्णालीको चिसापानी पुल एक सातापछि सञ्चालनमा आएको छ । २८ फागुनमा वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा ५ ख ५२९७ नम्बरको ट्रकमा आगलागी हुँदा पुलको १४ सपोट डोरीमा आंशिक क्षति पुगेको थियो । त्यसपछि एक सातादेखि बन्द रहेको पुल सोमबारबाट सञ्चालनमा आएको हो ।

पुलमा तत्काल एकतर्फी मात्रै यातायात चल्ने छन् । केही दिन त्यसको अवस्था हेरेर विज्ञको सुझावपछि दुई तर्फी यातायात चलाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । पुलमा भएको क्षति अध्ययनका लागि सडक विभागको प्राविधिक टोली मंगलबारदेखि खटिएको थियो ।


कर्णाली पुल भएर आवतजावत बन्द गरिएपछि लम्की, टीकापुर, सत्ती पुल हुँदै राजापुरबाट बर्दिया पुग्ने वैकल्पिक बाटो प्रयोग गरिएको थियो । आगलागीबाट एक करोड १५ लाख ६८ हजारबराबरको ट्रकमा रहेको लाइटर जलेको छ ।

नेपाल कर्म । ५ चैत्र २०८०, सोमबार १३:०१