लोडसेडिङ्गको मारमा हुम्लाका एसइई दिने विद्यार्थी

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार कटौतीले उनीहरूलाई समस्या भएकाे हाे ।



विद्यार्थीले साँझको समयमा पढ्न नपाएको गुनासो गरेका छन् । एसइई दिने विद्यार्थीलाई मात्रै नभएर अन्यलाई पनि घरमा गृहकार्य तथा लेख पढ गर्न समस्या भएको छ । यही चैत १५ गतेदेखि एसइईको परीक्षा सुरु हुँदैछ ।

ट्युसनको भरमा एसइईको तयारी गरिरहेका विद्यार्थी दैनिक ११ घण्टा विद्युत् भार कटौतीबाट निरास छन् । खार्पुनाथ गाउँपालिका–३ स्थित हुम्ला मावि रायाका विद्यार्थी रेलबहादुर बुढाले भने, ‘दिनमै ११ घण्टा बत्ती जान्छ, पढ्नै नपाएपछि कसरी पास हुनु ?’ गाउँबाट सदरमुकाम आएर एसइईको तयारी गरिरहेको भए पनि रातिको समयमा पढाइमा बाधा पुगेको उनको भनाइ छ ।

दैनिक ११ घण्टा विद्युत् भार कटौतीले विद्यार्थी मात्र होइन, अन्यलाई पनि सास्ती भएको छ । जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा सदरमुकामस्थित व्यापार–व्यवसाय पनि प्रभावित बनेको छ । कुन समय कतिबेला र कति पटक विद्युत् भार कटौती हुन्छ भन्ने समय तालिका नभएका कारण पनि सेवाग्राही बढी समस्यामा छन् । विद्युत् भार कटौतीपछि सिमकोटमा दाउराको माग बढेको छ । एक भारी दाउराको सिमकोटमा एक हजार तिर्नुपर्ने अवस्था छ ।

नेपाल विद्युत् प्राधिकरण हुम्लाका निमित्त प्रमुख सुशील थारुले प्राधिकरणले ‘लोडसेडिङ’को तालिका नबनाएको स्विकारे । तालिका बनाउँदा सेवाग्राहीलाई थप असर पर्ने उनको भनाइ छ । हिल्दूस्थित साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत घटबढ भइरहने भएकाले विद्युत् उत्पादन पनि कहिले कम कहिले बढी भइरहने कारणले विद्युत् भार कटौतीको तालिका बनाउन समस्या भएको निमित्त प्रमुख थारुले बताए ।

तपाईको प्रतिक्रिया