सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरमा पनि विश्व उपभाेक्ता दिवस मनाइएकाे छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतकाे आयाेजनामा वीरेन्द्रनगरमा प्रभातफेरि गरेर दिवस मनाइएकाे हाे ।

प्रभातफेरिपछि आयाेजित कार्यक्रमलाइ सम्बाेन्धन गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले उपभोक्ता अधिकार दिवस वर्षभरी नै मनाउन आग्रह गरे ।

उनले वर्षको एक दिन औपचारिक कार्यक्रम आयोजना गरेर ‘झारा’ टार्ने परिपाटीबाट माथि उठेर ३ सय ६५ दिन नै उपभोक्ता सचेतना र अधिकारका पक्षमा लड्नुपर्ने बेला आएको बताएका छन् ।
उपभोक्ता हित र स्वच्छ बजार कायम गर्न दर्जनौं ऐन, नियम भएपनि आम उपभोक्ताले महसूस गर्न नपाईरहेको भन्दै मन्त्री शर्माले कानून कार्यान्वयनको पाटो महत्वपूर्ण रहेको औल्याए ।
कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रकुमार बासुकलाले कर्णाली प्रदेश सरकारले उपभोक्ता अधिकारको रक्षाका लागि प्रदेश स्तरीय बजार अनुगमन समिति गठनसहित थप कानून निर्माणको प्रक्रियामा रहेको जानकारी दिए ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले उपभोक्ताको स्वास्थ्यसंग खेलवाड नहोस् भन्ने उद्देश्यले बेलाबखत नियमकारीले बजार अनुगमन गदै आईरहेको बताए । उनले बजार अनुगमनसँगै उपभोक्ता अधिकार शिक्षालाई विद्यालय पाठ्यक्रममै समावेश गर्न आवश्यक रहेको औल्याए ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक मुकुन्दनाथ योगीले उपभोक्ताको मौलिक हक कार्यान्वयनमा तिनै तहका सरकारसँगै उत्पादक र उपभोक्ता पनि सचेत हुनुपर्नेमा जोड दिए । उनले उपभोक्ता अधिकारका क्षेत्रमा विगतको अवस्थामा भन्दा धेरै सुधार आएपनि अझै थुप्रै कामहरु गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश संयोजक आकाश तारा बयकले एकदिने कर्मकाण्डी दिवसले आम उपभोक्ता अधिकार संरक्षण र प्रवद्धन हुन नसकेको जानकारी दिए ।
उनले नियमनकारी निकायबाट उपभोक्ता हित र अधिकारप्रति संवेदनशील हुन नसक्दा देखावटी नक्कल र झारा टार्ने प्रवृत्ति कायम रहेसम्म दिवसहरु केवल नारामै सीमित हुने बताए ।

नेपाल कर्म । २ चैत्र २०८०, शुक्रबार २०:४५