नेपालगञ्जमा राेकिएका दैलेखको पेट्रोल खानीमा खन्ने मेशीन आइतबार लगिदै

सुर्खेत । केही दिनदेखि नेपालगञ्जमा राेकिएका दैलेखको पेट्रोल खानीमा खन्ने मेशीन बाेकेका ट्रकहरू आइतबार हिड्ने भएका छन् ।  दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम कार्यका लागि नेपालगन्जको रुपैडिया भन्सार नाकामा राेकिएका ट्रक अर्थ मन्त्रालयले सहमति दिएपछि आइतबार मात्रै दैलेखका लागि प्रस्थान गर्ने लागेका हुन् ।



याे पनि पढ्नुहाेस् : दैलेखको पेट्रोल खानीमा खन्ने मेशीन नेपालगञ्जमा रोकिए

नेपाल सरकार अर्थ मन्त्रालयले भन्सार छुट पत्रमा खानी तथा भूगर्भ विभागकै नाम उल्लेख गरेर अनुमति प्रदान गरेपछि बाटो नेपालगञ्ज भन्सार कार्यालयले छाड्नका लागि तयारी थालेकाे छ ।

कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालकाअनुसार अर्थले स्वीकृत दिएकाे जानकारी पाएकाे र पत्र कार्यालयमा आइनसकेकाले प्रक्रियागत रूपमा पूरा हुन आइतबारसम्म लाग्न सक्छ ।

‘मैले पाएकाे सूचनाअनुसार चिनियाँ टाेली शनिवार नेपालगञ्ज आउन लागेकाे जानकारी पाएकाे छु,’ कार्यालयका सूचना अधिकारी लम्सालले भने, ‘उहाँहरूले प्रज्ञापन भरेपछि कार्यालयले सामानकाे जाँचपछि सम्भवत आइतबार दिउँसाेबाट सबै ट्रक दैलेखका लागि प्रस्थान गर्छन अब कुनै राेकावट हुँदैन ।’

बुधबार अर्थ मन्त्रालयले निर्णय गरेसँगै अब अन्य प्रक्रिया सुरु भएको र अर्थबाट भन्सारमा पत्र जाने क्रम जारी भएकाले एक–दुई दिनमा रुपैडिया नाकामा रोकिएका करिब उपकरणसहितका ट्रक दैलेखका लागि हिँड्ने खानी तथा भूगर्भ विभागका प्रमुख दिनेशकुमार नापितले बताए।

दैलेखको पेट्रोलियम अन्तिम अन्वेषण कार्यका लागि कोलकतामा ६० वटा ट्रक आइसकेका छन्। नेपालगन्जस्थित रुपैडिया नाकामा ३० वटा ट्रक पुगिसकेका छन्।

अन्तिम अन्वेषणका लागि करिब चार किलोमिटर मुनिसम्म ड्रिलिङ गर्नका लागि बन्दोबस्तीका सामान, मेसिन औजार, उपकरणलगायत दुई सयभन्दा बढी ट्रक दैलेख आउने तयारीमा रहेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत दिनेशकुमार त्रिपाठीले जानकारी दिए।

दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार जिल्लामा सामान आउने रुटहरूको सफाइ गर्ने, मोड नमिलेका स्थानमा मोड मिलाउनेलगायतका अधिकांश काम सम्पन्न भइसकेको छ ।

चीनको जिओलोजिकल सर्भे कम्पनीको नाममा भन्सार छुट पत्र तयार गरिएको भए पनि उक्त पत्रमा नेपाल सरकार खानी तथा भूगर्भ विभागकै नाम समावेश गर्नुपर्ने भन्दै अर्थ मन्त्रालयमा डेढ महिनाअघि नै पत्र पठाइएको थियो। अर्थ मन्त्रालयले निर्णय गरेसँगै अब अन्तिम अन्वेषणको काम सुरु हुने भएको छ।

नेपालगञ्जमा मेशिन बाेकेका तर राेकिएमा सबै सवारीलाइ सुरक्षा दिएर दैलेखकाे जलजले पुर्याउन सुरक्षा निकायलाइ नै परिपत्र गरिएकाे सुरक्षा स्राेतले जानकारी दिएकाे छ ।

नेपालगन्जबाट सुर्खेतदेखि कर्णाली राजमार्ग हुँदै चामुण्डा विन्द्रासैनी नगरपालिकाबाट मध्यपहाडी राजमार्गको सडक प्रयोग गरेर अन्वेषण स्थल दैलेखको जलजले आउनेछन्। यसपालिको अन्वेषणको सकारात्मक रिपोर्ट आएमा समग्र नेपालकै आर्थिक अवस्था सुधारमा यो परियोजना कोसेढुंगा साबित हुनेछ।

तपाईको प्रतिक्रिया