कर्णालीका आठ जिल्लामा फैलियाे लम्पि स्कीन रोग : गाईभैंसीलाई खाेप लगाउन शुरु

सुर्खेत । महामारीका रुपमा फैलिएको लम्पि स्कीन रोग विरुद्धको खोप लगाउन शुरु गरिएको छ । गत बैशाख पहिलो सातादेखि कर्णालीका विभिन्न जिल्लाहरुमा देखिएको गाईभैंसीमा लाग्ने लम्पि स्कीन रोग नियन्त्रणका गर्न खोप अभियान थालिएको हो ।



प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पशुपन्छी विकास निर्देशनालयले खोप खरिद गरेर प्रभावित जिल्लाहरुमा पठाइ रहेकाे छ । खोप संक्रमित भएका गाईभैंसीलाई लगाउन नमिल्नेहुँदा प्राथमिकताका आधारमा संक्रमित नभएका दुधालु गाईभैंसी, जोत्ने गोरु र अन्य पशुहरुलाई लगाउन मातहतका निकायलाई निर्देशन दिएको मन्त्रालयका पशु विकास अधिकृत प्रचण्ड खड्का ‘क्षत्री’ले जानकारी दिए ।

हालसम्म दुई हजार पाँच सय डोज खोप रुकुमपश्चिम, सल्यान र जाजरकोटमा पठाएर लगाउन शुरु गरिसकिएको खड्का बताउँछन् । थप सात हजार डोज खोप दैलेख, सल्यान, हुम्ला र रुकुम पश्चिममा पठाइएको छ । बाँकी खोप प्रभावित जिल्लाहरुमा पठाइरहेको खड्काले जनाए । हालसम्म लम्पि स्कीन रोगका कारण सुर्खेत, दैलेख, सल्यान, डोल्पा, जाजरकोट, रुकुपश्चिम, हुम्ला र मुगु जिल्ला प्रभावित बनेका छन् ।

जिल्लामा रहेका पशु अस्पताल तथा पशु विकास कार्यालयले स्थानीय तहमा रहेका पशु शाखाको समन्वयमा कृषकहरुको घर–घरमा पुगेर खोप लगाइरहेको मन्त्रालयका पशु विकास अधिकृत खड्काको भनाई छ । उनले विस्तारै रोग फैलावटको मात्रामा कमि आएकाले पशु बस्तुलाई आहारामा विशेष ख्याल पु¥याउन अनुरोध गरेका छन् ।

संक्रामक यो रोगका कारण किसानले पालेका दुधालु गाईभैँसीसँगै खेती लगाउने सिजनमा गोरुहरु गोठमै बिरामी पर्दा पशुधन कसरी जोगाउने भन्नेमा कृषकहरु चिन्तित छन् । शुरुमा गाई र गोरुमा मात्रै देखिएको ‘लम्पी स्किन’ पछिल्लो समय भैँसीमा समेत तिव्र रुपमा फैलिएको छ । रोग लागेका दुधालु गाईभैंसीमा दुध उत्पादनमा घटेको छ ।

पशुपालन नै आम्दानीको मुख्य स्रोत बनाएका कर्णालीका कृषकहरु रोगका कारण पशुहरुलाई बचाउन समस्या भएको छ । सल्यान जिल्लामा महामारीकै रुपमा फैलिएको लम्पी स्किन रोगले प्रदेशका अन्य जिल्लाहरुमा तिव्र रुपमा फैलिएको हो । रोग पुष्टि भएपछि बैशाख दोस्रोसाता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पशुरोग अन्वेषण तथा प्रयोगशालाको टोली प्रभावित क्षेत्रमा खटिएको थियो । यद्यपि संक्रमण दर व्यापक रुपमा फैलिन थालेपछि मन्त्रालयले मातहतका निकायलाई स्थानीय तहसँग समन्वय गरेर रोग नियन्त्रणका लागि प्राथमिक उपचार गर्न निर्देशन दिएको थियो ।

लिम्पी स्किन रोग लागेपछि गाईवस्तुका घाँटी, पुच्छर लगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खाहरू देखिने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो, कचेरा र सिंगान बग्ने जस्ता लक्षणहरु देखा परेका छन् । रोग लाग्दा गर्भअवस्थाका गाईभैंसी तुहिने र दूध उत्पादनमा कमी आउने, गाईभैंसीको ओसारपसार, संक्रमित र स्वस्थ गाईभैंसीलाई उपचारको क्रममा एउटै सुईको प्रयोग र प्राकृतिक तथा कृत्रिम गर्भाधानमा संक्रमित साँढेको वीर्यको माध्यमबाट पनि सर्ने पशुपन्छी विकास निर्देशनालयले जनाएको छ ।

२०७७÷०७८ को तथ्याङ्कअनुसार कर्णालीमा सात लाख ९५ हजार नौसय २३ गाईगोरु र भैंसीरागा छन् । यीमध्य गाईगोरु चार लाख ८६ हजार ३९६ र भैंसीराँगा तीन लाख नौं हजार पाँचसय २७ ओटा छन् । कुल गाईगोरु र भैंसीराँगामध्य हालसम्म तीन लाख बढी लम्पी स्किन रोगबाट संक्रमित छन् । यीमध्य दुई हजारको मृत्यु भएको तथ्याङ्क मन्त्रालयसँग छ ।

तपाईको प्रतिक्रिया