काँग्रेसका नेता शाहीले किन थाले कपुरकोटदेखि सिमकाेट यात्रा ?

सुर्खेत । नेपाली काँग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले सल्यानको कपुरकोटदेखि हुम्लाको सिमकोटसम्मको ‘संगठन सुदृढ यात्रा’ अभियान थालेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पत्रकार भेटघाट कार्यक्रममार्फत नेता शाहीले नेपाली कांग्रेस ‘संगठन सुदृढ यात्रा’ शुक्रबार सल्यानबाट सुरु गर्न लागेकाे जानकारी दिएका हुन् ।



चैत्र २ गतेबाट कर्णाली प्रदेशका १० वटै जिल्लामा पुग्ने गरी ‘नेपाली कांग्रेस संगठन सुदृढ यात्रा’ सञ्चालन गर्ने उनले बताए । नेपाली कांग्रेसको गौरवशाली इतिहासलाइ कायम राख्ने अनुभवी पुस्तालाई सम्मान, वर्तमान पुस्तामा उर्जा अभिवृद्धि गर्न र भावी पुस्तालाई कांग्रेसमा जोड्ने तथा अग्रजदेखि युवा पुस्तासम्म भेटघाट, छलफल, बहस, अन्तरक्रियाको माध्यमबाट पार्टीलाई भावनात्मक रुपमा एकतावद्ध गराएर संगठनलाई बलियो एवं सशक्त बनाउँदै थप उर्जाशील र गतिशील बनाउने मूल उद्देश्यले पार्टी ‘संगठन सदृढ यात्रा’ थालिएको उनले उल्लेख गरे ।

उनकाअनुसार नेपाली कांग्रेसलाई पार्टीलाई चलायमान र जागृत गर्दै भातृसंस्था तथा शुभेच्छुक संस्थाहरुका नेता, पार्टी पंक्ति र कार्यकर्तामा नयाँ आशा, भरोसा र नयाँ ऊर्जा थप्न, उत्साह र उत्प्रेरणा ल्याउन यो यात्रा अभियान प्रारम्भ गरिएको हो ।

“संगठनको गाउँ टोल तहमा रहेर काम गरिरहेका नेता, कार्यकर्ता नै संगठनको मूल आधार हो,” नेता शाहीले भने, “पार्टीलाई जनतासँग जोड्न र उनीहरुको भावनालाई पार्टीसम्म पु¥याउन यो यात्राले त्यो तहसँग धरातलमै भेटेर संवाद मात्र गर्नेछ ।”

नेपाली कांग्रेसलाई सशक्त, सवल, प्रभावकारी, सुदृढ, लोकप्रिय, बलियो र गतिशील पार्टी बनाउने पार्टी सदस्यहरुको कर्तव्य र दायित्व भएको उनले जनाएका छन् ।

उनले चैत्र २ गतेबाट थालिएको ‘‘नेपाली कांग्रेस संगठन सुदृढ यात्रा’’ अभियानका लागि केन्द्रीय तथा प्रदेश नेतृत्वको सल्लाह लिइएको र जिल्ला सभापतिहरुसँगको समन्वयमा अगाडि बढिने जनाए ।

समग्रमा आएका रायसुझाव पार्टीलाई दिएर घच्घच्याउँदै अभियानमार्फत पार्टी र लोकतान्त्रिक व्यवस्थामाथि देखिएका चुनौतिहरुको पनि चिरफार गरिने उनको भनाई थियो ।

मूलतः नेपाली कांग्रेसलाई पुनर्जीवन दिन, पार्टीलाई नयाँ रक्तसञ्चार दिन यात्रा अभियान तय गरिएको बताउँदै नेता शाहीले नेपाली कांग्रेसलाई इतिहासकालझैं क्रान्तिकारी पार्टी, जनताको आशा, भरोसा एवं विश्वासलाग्दो पार्टी बनाउन भूमिका निर्वा गर्ने जिकिर गरे ।

तपाईको प्रतिक्रिया