सुर्खेत । सल्यानको सारदा नगरपालिका वडा नं. ३ का तत्कालिन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मृत्यु भैसकेका व्यक्तिको वृद्धभत्ता खाइदिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भैसकेको व्यक्तिका नाममा वृद्धभत्ता बुझेर थापाले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । थापाले आर्थिक वर्ष २०७४/०७५ र २०७५/७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता, आर्थिक वर्ष २०७६/०७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको गरी ५१ हजार सामाजिक सुरक्षा भत्ता वापतको रकम आमा नाता जनाई भुक्तानी लिइ सरकारी रकम हिनामिना गरेको आयोगले ठहर गरेको छ ।

थापाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।


नेपाल कर्म । ३० फाल्गुन २०८०, बुधबार १८:४३