राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाण्डाैं । माओवादी केन्द्रका सांसद नारायण दाहाल राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार भएको मतदानमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले दाहाल अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन् ।



मतदान प्रक्रियामा कुल ५६ सांसद उपस्थित भएका थिए । त्यसमध्ये ३९ सांसदले दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने पक्षमा मत दिएका थिए भने १७ सांसदले उक्त प्रस्तावको विपक्षमा मतदान गरेका थिए । दाहाललाई निर्वाचित गरियोस् भन्ने पक्षमा बहुमत पुगेकाले अर्यालले दाहाल राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेकी हुन् ।

उनी २०७८ मा राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए । सत्तारुढ माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा अध्यक्षका उम्मेदवार रहेका दाहालले एमाले, नेकपा एस तथा जसपाको समर्थन पाएका छन् ।

यसअघि कांग्रेसका उम्मेदवार युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । निर्वाचनमा उपस्थित ५६ सदस्यमध्ये शर्माको पक्षमा १७ र विपक्षमा ३९ मत पाएका थिए ।

तपाईको प्रतिक्रिया