सुरक्षित गर्भपतन सेवा हुँदा हुँदै असुरक्षित बाटो रोज्छन् किशोरी

ओम शाही, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाल–७ कि सुनिता थापा (नाम परिवर्तन) तीन पटकसम्म गर्भपतन गरिन । सुनिताले बारम्बार गर्भपतन गराउनुको मुख्य कारण उनी अविवाहित हुनु र पार्टनरसँग असुरक्षित यौन सम्पर्क हो । विवाह गर्ने प्रलोभनमा सुनिताले आफ्ना प्रेमिसँग पटक–पटक असुरक्षित यौन सम्पर्क राखिन । तर, विवाहपूर्वको सम्बन्धलाई सुरक्षित राख्न उनले गर्भनिरोधकका कुनै पनि अस्थायी साधन अपनाउन सकिन न त प्रेमिलाई नै यसबारे बुझाउन सकिन ।



सुनिता र उनका प्रेमि बिच भएको असुरक्षित सम्बन्धका कारण तीन पटकसम्म गर्भ बसेपछि उनले विवाहका लागि प्रस्ताव राखिन । तर, उनका पे्रमिले नमानेपछि अहिले उनी कानूनी लडाईँमा छिन् ।
‘हामी लामो समयदेखि प्रेम सम्बन्धमा थियौं, विस्तारै उसले मलाई यौन सम्पर्कका लागि प्रस्ताव राख्न थाल्यो,’ उनले भनिन्, ‘केही भए विवाह गर्छु, चिन्ता नलेउ भनेर बारम्बार भनेपछि म उसँग सम्बन्ध राख्न बाध्य भएँ, जसले म तीन पटकसम्म गर्भवति पनि भए, उसले मलाई फकाएर गर्भ फाल्न लगायो, विवाह नभएका कारण मलाई अस्पतालसम्म जान लाज लाग्यो अनि घरेलु विधिबाट गर्भपतन गराएँ ।’
पटक–पटकको गर्भपतनले अहिले तल्लो पेट दुख्ने लगायतका स्वास्थ्य समस्या देखा परेको उनले सुनाइन् । उनलाई सुरक्षित गर्भपतन सेवाका बारेमा खासै जानकारी नभएको र स्वास्थ्य संस्थामा गर्भपतन गराउन जादा समाजमा लाज हुने डरले घरमै गर्भपतन गराएको उनले बताइन् ।

त्यस्तै, दैलेखको दुल्लुकी २१ वर्षीया किशोरी कमला (नाम परिवर्तन) ले पनि विवाह पूर्व चार पटकसम्म असुरक्षित गर्भपतन गरिन । प्रेमिसँगको असुरक्षित सम्बन्धका कारण बसेको गर्भलाई कमलाले बुढापाकाको भनाई अनुसार बाख्राको पिसाब, कुभिन्डोको तरकारीे र गहत उमालेर खाने लगायतका अत्यन्तै असुरक्षित गर्भपतनको बिधि अपनाइन् । सुरक्षित गर्भपतन सेवा प्रदायक स्वास्थ्य संस्थाको त्यति पहुँच नभएकी कमलालाई समाजमा परिवार र आफ्नो इज्जत जाने डरले जसरी पनि गर्भपतन गर्नुपर्ने थियो, त्यसैले उनले असुरक्षित गर्भपतनको बाटो रोजिन् ।

सुनिता र कमला प्रतिनिधि मुलक पात्र मात्र हुन् । कर्णालीमा सुरक्षित गर्भपतन सेवाका बारेमा आवश्यक जानकारी नहुँदा चाहाना नहुँदा बसेको गर्भलाई हटाउन महिला र किशोरीहरुले गर्भपतनको असुरक्षित बाटो रोजिरहेका छन् । संविधानले महिलाको प्रजनन् स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा परिभाषित गरेको भए पनि गर्भपतनलाई ज्यानसम्बन्धी फौजदारी महलको परिधिमा राखिएका कारण कर्णालीका अधिकांश महिला सुरक्षित गर्भपतन सेवा लिनबाट वञ्चित छन् ।

कर्णालीका सबै जिल्लामा सुरक्षित गर्भपतनको सहज पहुँज छैन । पहुँच भएका जिल्लामा पनि गर्भपतनबारे आवश्यक जानकारी नहुनुले गर्भवतीहरू स्वास्थ्य संस्थासम्म पुग्दैनन् । जसका कारण कर्णालीभर कतिले सुरक्षित या असुरक्षित गर्भपतन गराउँछन्, यकिन तथ्यांक प्रदेश स्वास्थ्य निर्देशनालयसँग छैन । अझ भनौँ, विवाह बन्धनमा नबाँधिएका वा विवाह हुने उमेर नपुगेका तर असुरक्षित यौन सम्पर्कबाट गर्भवती भएकाहरू समाज तथा परिवारको लाजले कि त विवाह गर्न बाध्य छन्, धेरैले असुरक्षित गर्भपतन गर्ने गरेका छन् ।

गर्भपतनका लागि पायक पर्ने ठाउँमा सूचिकृत सेवा प्रदायक संस्था र तालिमप्राप्त जनशक्ति नहुँदा पनि असुरक्षित गर्भपतन गर्नुपर्ने बाध्यता छ । विद्यालय उमेरमै सुरु हुने प्रेम सम्बन्ध अन्तिममा शारीरिक सम्पर्कमा पुग्दा र सुरक्षित गर्भपतनबारे जानकारी नहुँदा कर्णालीका धेरै किशोरीहरू सानै उमेरमा गर्भवती हुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । यसरी गर्भवती हुँदा किशोरीहरूको स्वास्थ्यमा असर त परेकै हुन्छ, सामाजिक बहिष्कार, मानसिक समस्या, पारिवारिक चिन्ता र पढाइमा समेत बाधा पुग्ने गरेको उनीहरुको भनाई छ । सुरक्षित गर्भपतनका लागि निश्चित स्वास्थ्य संस्था तोकिएका छन् । असुरक्षित गर्भपतन कानुनी रूपमा वर्जित छ ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १५ ले महिलाले सुरक्षित गर्भपतन गर्न पाउने व्यवस्था गरेको छ । गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भ सुरक्षित रूपमा पतन गराउन सकिन्छ । यसका साथै गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्ने वा विकलाङ्ग बच्चा जन्मन्छ भनी इजाजतप्राप्त चिकित्सकको राय÷सल्लाह भएमा महिलाको मञ्जुरीबमोजिम २८ हप्तासम्मको समेत गर्भपतन गराउन सकिने ऐनमा व्यवस्था छ ।

जबर्जस्ती करणी वा हाडनाता करणी, एचआईभी वा त्यस्तै प्रकृतिको रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु वा निको नहुने रोग लागेका महिलाको मञ्जुरीमा समेत २८ हप्तासम्मको गर्भपतन गर्न सकिन्छ । भ्रुणमा कमीकमजोरी भएकाले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भु्रणमा खराबी रहेको, वंशाणुगत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले भु्रणमा अशक्तता हुने अवस्था रहेको भन्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको रायबमोजिम गर्भवती महिलाको मञ्जुरीमा २८ हत्तासम्मको गर्भपतन गर्न सकिने कानुनी व्यवस्था छ ।

‘जनचेतना फैलाउन आवश्यक छ’

गर्भपतन रहरले नभई विभिन्न बाध्यताले गर्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । गर्भमा भएको सन्तान चाहना भन्दा फरक वा थाहै नभई बस्ने गर्भ जसले भविष्यमा दुख हुने लगायत समस्याले धेरैले गर्भपतन गराउँछन् । गर्भपतन गराउने सुरक्षित विधिहरु प्रचलित छन् । अहिले औषधि सेवनबाट समेत गर्भपतन गराउन सकिन्छ । तर, यसमा केही सतर्कता अपनाउनुपर्ने चिकित्सकहरु सुझाउँछन् । असुरक्षित गर्भपतनको मुख्य करण शिक्षाको कमी भएको कर्णाली केयर हस्पिटलमा कार्यरत डा. सजिप्ता पन्त बताउँछिन् ।

‘गर्भपतन गर्ने चाहना वा बाध्यता धेरैको हुन्छ, यदि शिक्षाको कमी नभए उनी गर्भनिरोधकका उपाय अपनाउँछिन्,’ डा. पन्त भन्छिन्,’ ‘कसैका बच्चा सानो भएको, छोराको चाहना, कसैका सन्तानको रहर पुगिसकेको त कसैका छोराछोरी हुर्किसकेर ठूला भइसकेका, कसैको अध्ययन पूरा नभएको जस्ता सामाजिक तथा आर्थिक लगायतका कारणहरु हुनसक्छन् ।’ नेपाल सरकारले सूचीकृत भएका संस्थाबाट गर्भपतनसम्बन्धी निःशुल्क सेवा लिन सकिन्छ । तर, कतै सरकारी संस्थाको विश्वास नभएका कारण त कतै ग्रामीण भेगमा निःशुल्क सेवा पाइन्छ भन्ने ज्ञान नभएका कारण असुरक्षित गर्भपतन गराउन महिला तथा किशोरीहरु बाध्य छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याकं अनुसार सुर्खेत जिल्लामा वितेको तिन वर्षमा ७ हजार ७ सय ६७ गर्भपतन भएको छ । २०७७/०७८ मा २ हजार ४ सय ९१ जनाले गर्भपतन गराएका छन् । २०७८/०७९ मा २ हजार ६ सय १५ जनाले गर्भपतन गरेको तथ्याकंमा उल्लेख छ । यो संख्या २०७९/०८० मा आउदा बढेर २ हजार ६ सय ६१ पुगेको छ । सुर्खेत जिल्लाको पछिल्लो ३ वर्षको तथ्याकं हेर्दा पनि गभपतन गर्नेको संख्यामा बृद्धि भएको सहजै देख्न सकिन्छ ।

त्यसै गरी राष्ट्रिय जनगणना २०७८ को अनुसार प्रत्येक एक लाख जीवित जन्ममा अझै पनि १ सय ५१ महिलाको प्रसूति सम्बन्धी जटिलताका कारण मृत्यु हुने गरेको छ । कुल मातृ मृत्यु मध्ये ६ प्रतिशत अर्थात् ३७ महिलाले गर्भपतन गराएकोे तथ्याँकमा उल्लेख छ । नेपालमा वर्षेनी करिब एक लाख महिलाले सुरक्षित गर्भपतनको लागि सूचीकृत क्लिनिक र स्वास्थ्य संस्थामा गर्भपतन गराउने गरेका छन् । स्त्रीरोग विशेषज्ञहरूका अनुसार गर्भपतनको वास्तविक संख्या आधिकारिक तथ्याँक भन्दा कैयौँ गुणा बढी हुन सक्ने बताउछन्, किनकि सबै गर्भपतनहरू तथ्यांकमा आउँदैनन् ।

कर्णालीमा स्वास्थ्य संस्थाको सहज पहुँच भएका जिल्लाहरुको तथ्यांकलाई विश्लेषण गर्ने हो भने अन्य जिल्लामा सुरक्षित गर्भपतन सेवाका बारेमा व्यापक जनचेतना फैलाउनु पर्ने जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतम बताउँछन् । ‘तथ्यांक हेर्दा गर्भपतनको कारण जे सुकै होलान्, तर, यो बढेको सहजै अनुमान लगाउन सकिन्छ,’ उनले भने, ‘कर्णालीका ग्रामिण क्षेत्रमा अझै पनि सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी नहुँदा महिला तथा किशोरीहरुले अझै पनि असुरक्षित बाटो अपनाइरहेको देखिन्छ ।’

तपाईको प्रतिक्रिया