कर्णालीका ७१८ वडामध्य ६ वटा मात्रै शहरमा रूपान्तरण

सुर्खेत ।  कर्णालीका ७९ स्थानीय तहमा ७१८ ओटा वडा छन् । यीमध्ये हालसम्म ६ वटा वडा मात्रै शहरोमा रूपान्तरण भएकाे पाइएकाे छ । राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रदेशगत ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरणका आधारमा तीमध्ये ६ वटा शहरोन्मुख क्षेत्र, ७५ वटा शहरी क्षेत्र र ६ सय ३७ वडा ग्रामीण इलाकामा रहेको देखाएकाे हाे ।



राष्ट्रिय तथ्याङ्क विभाग सुर्खेतका तथ्याङ्क अधिकृत दीनानाथ लम्सालका अनुसार तीमध्ये ग्रामीण इलाका ८० दशमलव १ प्रतिशत, शहरोन्मुखमा ४ दशमलव ३ र शहरीमा १५ दशमलव ५ प्रतिशत जनसंख्याको बसोबास छ ।

राष्ट्रिय शहरी नीति, २०६४ र शहरी विकास रणनीति, २०७३ अनुसार शहरीकरणका लागि पाँच हजारभन्दा बढी जनसंख्या भएको, प्रति हेक्टर न्यूनतम १० व्यक्ति जनघनत्वको रहेको र १० वर्षभन्दा माथिको जनसंख्याको कम्तीमा पनि ५० प्रतिशत गैर कृषि आर्थिक गतिविधिमा संलग्न भएको आधारमा शहरी केन्द्रहरूलाई परिभाषित गरेको छ ।

त्यसैका आधारमा राष्ट्रिय तथ्याङ्क विभागले शहरीकरणको परिभाषित गरेर कर्णालीमा शहरीकरणको तथ्याङ्क निकालेको हो । विभागको यो तथ्यांकले कर्णालीमा शहरीकरणको अवस्था कमजोर रहेको देखाउँछ ।

कर्णालीमा २५ नगरपालिका र ५४ गाउँपालिका छन् । प्रदेशगत ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरणअनुसार सुर्खेत जिल्लाका ६ वटा वडा शहरोन्मुख रहेका छन् । सुर्खेतका ९९ वडामध्ये ८० वटा वडा ग्रामीण, ६ वटा शहरोन्मुख र १३ वटा वडा शहरी क्षेत्रमा परेको तथ्याङ्क अधिकृत लम्सालले बताए । डोल्पा र हुम्ला जिल्लाका क्रमशः ६५ र ४४ वटा वडा पूर्ण ग्रामीण इलाका रहेको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ । जाजरकोटका ७७ वडामध्ये ७५ वडा ग्रामीण क्षेत्रमा र दुई वडा शहरी क्षेत्रमा रहेका छन् ।

जुम्लाका ६० वडामध्ये ५५ वडा ग्रामीण क्षेत्रमा र पाँच वडा शहरी क्षेत्रमा रहेका छन् । कालीकोटका ८२ वडामध्ये ६६ वडा ग्रामीण क्षेत्रमा रहेका छन् भने, १६ वडा शहरी क्षेत्रमा रहेका छन् । मुगुका ४५ वडामध्ये ४२ वटा वडा ग्रामीण क्षेत्रमा र ३ वडा शहरी क्षेत्रमा रहेका छन् । रुकुम पश्चिमका ७३ वडामध्ये ५८ वडा ग्रामीण इलाका र १५ वडा शहरी क्षेत्रमा रहेका छन् । सल्यानका ८३ वटा वडामध्ये ८० वडा ग्रामीण क्षेत्रमा र तीनवटा वडा शहरी क्षेत्रमा रहेको तथ्याङ्क अधिकृत लम्सालले बताए ।

राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङकअनुसार दैलेखका ९० वटा वडामध्ये १८ वटा वडा शहरी क्षेत्रमा रहेका छन् । त्यस्तै बसोबासका हिसाबले दैलेखमा ७९ दशमलव ३२ प्रतिशत मानिस ग्रामीण क्षेत्रमा र २० दशमलव ६८ प्रतिशत शहरी क्षेत्रमा बसोबास गर्ने गरेका छन् ।

डोल्पा र हुम्ला सबै मानिसहरु ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरेका छन् । जाजरकोटमा ग्रामीण क्षेत्र ९६ दशमलव ३६ प्रतिशत र शहरी क्षेत्रमा ३ दशमलव ६४ प्रतिशत मानिसले बसोबास गर्ने गरेका छन् । जुम्ला जिल्लाका ८९ दशमलव ८९ प्रतिशत ग्रामीण क्षेत्रमा बसोबास र १० दशमलव ११ प्रतिशत शहरी क्षेत्रमा बसोबास गर्ने गरेका छन् ।

कालीकोट जिल्लाका ७४ दशमलव २० प्रतिशत ग्रामीण इलाकामा र २५ दशमलव २० प्रतिशत मानिस शहरी इलाकामा बसोबास गर्ने गरेका छन् । मुगु जिल्लाका ८९ दशमलव ७१ प्रतिशत मानिस ग्रामीण इलाकामा र १० दशमलव २९ प्रतिशत मानिस शहरी इलाकामा बसोबास गर्ने गरेका छन् । रुकुम पश्चिम जिल्लाका ७५ दशमलव ८२ प्रतिशत मानिस ग्रामीण इलाकामा र २४ दशमलव ०८ प्रतिशत मानिस शहरी इलाकामा बसोबास गर्ने गरेका छन् ।

सल्यान जिल्लाका ९५ दशमलव ७१ प्रतिशत मानिस ग्रामीण इलाकामा र ४ दशमलव ६० प्रतिशत मानिस शहरी इलाकामा बसोबास गर्ने गरेका छन् । सुर्खेत जिल्लाका ५७ दशमलव ५५ प्रतिशत मानिस ग्रामीण इलाकामा, शहरोन्मुख १७ दशमलव ८४ प्रतिशत र २४ दशमलव ३१ प्रतिशत मानिस शहरी इलाकामा बसोबास गर्ने गरेका छन् ।

कर्णाली प्रदेशको हिसावले ग्रामीण क्षेत्रमा ७९ दशमलव ७६ प्रतिशत, शहरोन्मुखमा ४ दशमलव ३९ प्रतिशत र शहरी क्षेत्रमा १५ दशमलव ८५ प्रतिशत मानिस बसोबास गर्ने गरेको तथ्याङ्क अधिकृत लम्सालले बताए ।

तपाईको प्रतिक्रिया