सुदूरपश्चिममा चाैथाै‌ पटक सरकार विस्तार, शाह नेतृत्वको सरकार छाड्न नाउपाकाे निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चौथोपटक सरकार विस्तार गरेका छन् । शुक्रबार उनले नागरिक उन्मुक्तिका तीन मन्त्रीलाई नियुक्त गर्दै सरकार विस्तार गरेका हुन् । अल्पमतमा हुँदाहुँदै उनले असमावेशी रूपमा सरकार विस्तार गरेका छन् । प्रदेशमा ९ जिल्ला भए पनि सबैको प्रतिनिधित्व नहुने गरी मन्त्रीमण्डल बिस्तार भएको हो ।



सात सदस्यीय सरकारमा कैलालीका मात्रै ६ मन्त्री रहेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट मात्रै बैतडीका हुन् । मुख्यमन्त्री शाह कैलाली प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभाबाट निर्वाचित भएका थिए । त्यसै क्षेत्रको अर्को प्रदेशसभाबाट निर्वाचित रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् । घनश्याम चौधरी आर्थिक मामिलामन्त्री नियुक्त हुँदा खुसीराम चौधरीले बिनाविभागीयमन्त्री बनेका छन् ।

त्यस्तै भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा पनि कैलालीबाट निर्वाचित हुन् । कैलालीबाट समानुपातिक सांसद भएकी इन्दिरा गिरीले भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको कांग्रेस सरकार अल्पमतमा परेको छ । केही दिन अघि माओवादीका तीन र एकीकृत समाजवादी पार्टीका एक मन्त्रीलाई हटाइएको थियो । माओवादीका तीन र एकीकृत समाजवादी पाटिका एक मन्त्रीलाई हटाइएको थियो ।

माओवादीका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई हटाइएको थियो । नेकपा एकीकृत समाजवादीका आर्थिक मामिलामन्त्री नरेश शाहीलाई मन्त्रीबाट हटाइएको हो ।

कैलालीमा प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभातर्फ १० निर्वाचन क्षेत्र छन् । कैलालीसँगै जोडिएको प्रतिनिधिसभातर्फ ६ र प्रदेशसभातर्फ १२ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरबाट एक जना पनि मन्त्री नियुक्त भएनन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकारलाई बहुमत पुर्‍याउन २७ जना सांसद आवश्यक पर्छ । अहिले प्रदेश सरकारलाई कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ गरी २५ जना सांसदको मात्रै समर्थन रहेको छ । सरकारमा रहेको यी दुई दलले बहुमत पुग्दैन ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

शाह नेतृत्वको सरकार छोड्न श्रेष्ठको निर्देशन

यता नागरिक उन्मुक्ति पार्टीकी नेतृ रञ्जीता श्रेष्ठ चौधरीले कमल बहादुर शाह नेतृत्वको सरकार आजै छोड्न आफ्ना प्रदेशसभा सदस्यलाई निर्देशन दिएकी छन् । आफूसँग कुनै सल्लाह नै नगरी तीन जना मन्त्रीमा नियुक्त भएपछि उनले संसदीय दलका नेता घनश्याम चौधरीलाई आजै सरकार छोड्न निर्देशन दिएकी हुन् ।

चौधरीले कमल बहादुर शाह नेतृत्वको सरकारबाट फिर्ता हुन निर्देशन दिएकी हुन् । उनले आज संसदीय दलको बैठक बस्ने र सरकारबाट फिर्ता हुने निर्णय हुने बताएकी छन् । उनले सरकारमा जाने नजाने बारेमा पार्टी अध्यक्षसँग कुनै छलफल नै नगरिएको बताइन् । उनले आफूसँग कुनै सल्लाह नै नगरी मन्त्रीको शपथ खाएको बताएकी छन् । उनले पार्टी विधि विधानअनुसार नचलेपछि आजै सरकारबाट फिर्ता भएको निर्णय हुने बताइन् ।

नागरिक उन्मुक्तिका ७ जना प्रदेशसभा सदस्यमध्ये शुक्रवारको सरकार विस्तारपछि ३ जना मन्त्री र १ जना राज्यमन्त्री भएका छन् । शुक्रबार मुख्यमन्त्री कमल बहादुर शाहले उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिलामन्त्री, खुसीराम चौधरीलाई बिनाविभागीय मन्त्री र ईन्द्रा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका छन् । उन्मुक्तिका रामेश्वर चौधरीसहित अहिले ४ जना सरकारमा गएका छन् ।

तपाईको प्रतिक्रिया