जुम्लामा हिउँमा फसेका ८ जनालाई उद्धार गर्ने तयारी



सुर्खेत – जुम्लाको तातोपानी गाउँपालिका–४ गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा ८ जना हिँउमा फसेका छन्। जडीबुटी संकलन गर्न गएका उनीहरू ओडारमा बसिरहेका छन्। तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले हिँउमा फसेका उनीहरूको उद्धारका लागि हेलिकप्टर जान लागेको जानकारी दिए।

अध्यक्ष चौलागाईंका अनुसार यही फागुन १८ गते ८ जना जडीबुटी संकलनका लागि जुम्लाको बजेडी पाटन पुगेका थिए। जसमा तातोपानी गाउँपालिका–७ बाँरागाउँ र मुछालदेउ गाउँका गरी ८ जनामध्ये २ पुरुष र ६ महिला रहेको अध्यक्ष चौलागाई‌ंको भनाइ छ।

यसपटक खासै हिँउ नपरेको भन्दै उनीहरू जडीबुटी संकलनका लागि पाटन पुगेका थिए। तर, केही दिनअगाडि वर्षासँगै भएको हिमपातले उनीहरूलाई घर फर्किन मुस्किल भएको अध्यक्ष चौलागाई‌ंले बताए। उनका अनुसार त्यहाँ ५र६ फिट हिँउ जमेको छ।

उनीहरूको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर जुम्लातर्फ जान लागेको कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले जानकारी दिए।

तपाईको प्रतिक्रिया