कर्णाली सरकारबाट बाहिरिदै काँग्रेसबाट सहभागी मन्त्री

सुर्खेत । केन्द्रीय सत्ता समिकरण परिवर्तन भएसँगै कर्णाली प्रदेश सरकारमा सहभागी काँग्रेसका मन्त्रीहरुले सरकारबाट बाहिरिने तयारी गरिरहेका छन् । हालसम्म सरकारमा हुँदा गरेका कार्य प्रगति विवरणहरु सार्वजनिक गर्दै सरकार छाड्ने मोडमा मन्त्रीहरु जुटेका हुन् ।



‘राजनीतिमा उलटपलट भइरहन्छ, एक्काशी सत्ता समिकरण नै बदलिएपछि हामी पनि सरकारबाट बाहिरिँदैछौं,’ नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘सम्भवतः आज नै मन्त्रीहरुले पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री (राजकुमार शर्मा) समक्ष राजीनामा दिनुहुन्छ ।’

संघीयतामा केन्द्रकै सिको गर्ने प्रवृत्ति सही नभएको टिप्पणि यसअघिदेखि नै नेता शाहीले गर्दै आएका छन् । केन्द्रकै भर पर्नुपर्ने परिपाटी अन्त्य हुनुपर्छ भन्ने मान्यता राख्ने शाहीले प्रदेश आफैले केही गर्न नसक्ने हो भने संघीयता खारेजीको मागसमेत राख्ने गरेका छन् ।

नेपालकर्मसँग शाहीले भने, ‘संघीयताकोे सफल कार्यान्वयनका लागि प्रदेशकै दलहरुले स्वविवेक प्रयाग गर्न पाउनुपर्छ र केन्द्रले हस्तक्षेप गर्नु राम्रो हैन भन्ने मेरो भनाई हो ।’ उनले मन्त्री ज्यूहरुले हालसम्म गरेका कामहरुको सार्वजनिक गर्ने र त्यसपछि राजिनामा दिने बताए ।

सरकारलाई दिएको समर्थनका विषयमा शाहीले केही बताएनन् । काँग्रेस स्रोतकाअनुसार समर्थन फिर्ताको विषयमा संसदीय दलको बैठक बसेर आवश्यक निर्णय लिने बताइएको छ ।

८ सदस्यीय प्रदेश मन्त्रिपरिषद्मा कांग्रेसबाट तीन जना मन्त्री रहेका छन् । कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री छन् । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।

तपाईको प्रतिक्रिया