प्रथम कर्णाली प्रदेश महिला सम्मेलन सुरु, पूर्व राष्ट्रपतिद्वारा उद्घाटन

सुर्खेत । कर्णाली प्रदेशको प्रथम महिला सम्मेलन सुरु भएको छ। ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबारदेखि प्रथम कर्णाली प्रदेश महिला सम्मेलन आयोजना गरिएको हो।



वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको प्रदेश महिला सम्मेलनको नारा ‘महिलामा लागानीः सभ्य र सम्मुनत समाजको थालनी’ राखिएको छ। सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन्। सम्मेलन उद्घाटन सत्र र सामूहिक छलफल गरी दुई चरणमा चल्नेछ।

कर्णालीका सम्भावना, वअसर र चुनौतीको विषयलाई उजागर गर्न प्रथम महिला सम्मेलनले विशेष भूमिका खेल्ने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया भण्डारीले बताईन्। कर्णालीको विकासका लागि सबैको साझा बुझाई बनाउन सम्मेलनको भूमिका रहने उनले बताईन्।

‘विकासमा लैंगिक समावेशिता आजको आवश्यकता हो, सरकारले बनाउने योजनामा लैंगिक समावेशिता आवश्यक छ, सम्मेलनले यो विषयमा वकालत गर्ने अपेक्षा गरिएको,’ मेयर भण्डारीले भनिन्।

स्थानीय तहले बनाउने नीतिहरु पूर्णरुपमा समावेशी हुनुपर्ने साझा बुझाई स्थापित गर्न सम्मेलन कोशेढुंगा बन्ने अपेक्षा गरिएको उनले बताईन्। सम्मेलनको दोस्रो सत्रमा सामुहिक छलफल गरिने र त्यसबाट निस्किएका निश्कर्षका आधारमा सुर्खेत घोषणापत्र जारी गरिनेछ। सामुहिक छलफलका लागि अवधारणापत्र तयार पारिएको छ।

तपाईको प्रतिक्रिया