वीरेन्द्रनगरमा ट्राफिक लाइट कि आकाशे पुल आवश्यक

ट्राफिक व्यवस्थापनका लागि प्रदेशसँग सहकार्य गर्दै वीरेन्द्रनगर

सुर्खेत । बढ्दो सवारी चापका कारण वीरेन्द्रनगरका व्यस्त चोक हुन् ‘यरिचोक र मंगलगढी’ । यी चोकमा दैनिक साना ठूला गरी सरदर २० हजार सवारी साधन ओहोरदोहोर गरिरहेको अनुमान छ । तर व्यस्त यी चोकमा ट्राफिक लाइट आवश्यक की आकाशे पुल (फ्लाइओभर) राख्ने भन्ने निर्क्याैमा पुग्न वीरेन्द्रनगर नगरपालिकाले सम्भाव्यता अध्ययन गरिरहेको छ ।



बाहिरिने र भित्रने सवारीको धेरै चाप भएका यी दुवै चोक हुन् । यी चोकबाट कर्णाली प्रदेशका सुर्खेत र दैलेखका पश्चिम क्षेत्र, कालिकोट, हुम्ला, जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुरा र अछाम जिल्लाहरुमा पुग्ने सवारीहरु बाहिरिने र भित्रने गर्दछन् । योसँगै वीरेन्द्रनगर उपत्यका भित्रका साना भाडा र नीजि सवारीहरुको ओहोरदोहोरको पनि उत्तिकै चाप छ ।

मंगलगढी चाेक ।

बजार प्रवेश गर्ने, बसपार्क वा क्याम्पस जाने नागरिकहरुको प्रवेश विन्दु पनि मंगलगढी चोक नै हो । बजारको केन्द्रविन्दुको रुपमा रहेको यरिचोकको कथा पनि मंगलगढीको चोक जस्तै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाइट र फ्लाइओभर (आकाशे पुल) दुवै आवश्यक रहेको ट्राफिक प्रमुख देवेन्द्र बुढाथोकी बताउँछन् । ‘हामीले नगरपालिकालाई सुरक्षित सडक यात्राका लागि दुवै कामलाई प्राथमिकता दिनुहोस् भनेर मेयर समक्ष माग गरेका छौं,’ प्रमुख बुढाथोकी भन्छन्, ‘सडकमा जेब्रा क्रसिङ छन्, तर नागरिकहरुले प्रयोग नगर्दा दुर्घटनाको बढी जोखिम यी दुवै चोकमा अनेत्र बढी बढ्दो छ ।’

यरिचोक ।

जरुरी ट्राफिक लाइट की आकाशे पुल
नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा मंगलगढी र यरिचोकमा ट्राफिक लाइट र आकाशे पुल निर्माण गर्न सम्भाव्यताका लागि पाँच लाख बजेट विनियोजन गरेको छ । बढ्दो शहरी जनघनत्वले ट्राफिक व्यवस्थापन चुनौती बन्दै जाँदा दुवै काम गर्ने तयारीमा नगरपालिका छ ।

यद्यपी सम्भाव्यता अध्ययनको रिपोर्टपछि मात्रै कुन कामलाई प्राथमिकता दिने भन्ने पर्ख र हेरको अवस्थामा नगरपालिका छ । सुरक्षित सडक यात्रा र चुनौतीका रुपमा देखिएको ट्राफिक व्यवस्थापनलाई तत्कालका लागि समाधान गर्न ट्राफिक लाइट की आकाशे पुल भन्ने विषयमा टुंगाे लगाउने सम्भाव्यता तयारी अन्तिम चरणमा छ ।

ट्राफिक र ट्रान्सपोर्ट अनलिमिटेड सोलशुनले ट्राफिक लाइट र आकाशे पुलको विषयमा सम्भाव्यता अध्ययन गरिरहेको छ । अध्ययनको काम सकेर ड्राफ्ट तयार गरिसकेकाले अबको १५ दिनमा प्रतिवेदन नगरपालिकालाई बुझाउन लागेको ट्राफिक र ट्रान्सपोर्ट अनलिमिटेड सोलशुनका ट्रान्सपोर्ट ईन्जिनियर रेशु पौडेलले जानकारी दिइन् ।

‘प्रारम्भीक ड्राफ्टका आधारमा मंगलगढी र यरिचोकमा दैनिक २० हजार सवारी ओहोरदोहोर गरिरहेको तथ्याङ्कमा देखिन्छ,’ पौडेल भन्छिन्, ‘यो तथ्याङ्कमा केही घटबढ हुन सक्छ, अन्तिम रिपोर्ट तयार गर्दैछौं ।’ प्रारम्भीक रिपोर्टमा वीरेन्द्रनगरका दुवै चोकमा आकाशे पुलभन्दा ट्राफिक लाइट जरुरी देखिएको छ ।

‘ट्राफिक लाइट राख्दा अझै पाँच वर्षसम्म आकाशे पुल बनाउनु आवश्यक देखिदैन्,’ पौडेलले भनिन्, ‘काठमाडौंका भित्रि सडकमा हुने सवारीको ओहोरदोहोरभन्दा पनि कम चाप यी चोकमा देखिन्छन् । त्यो हिसाबले ट्राफिक लाइटबाटै केही वर्ष ट्राफिक व्यवस्थापन गर्न सकिन्छ भन्ने प्रारम्भीक प्रतिवेदनमा हामीले समटेको छौं ।’

फोरलेन सडकको मापदण्डमा भविष्यमा हुने सडक विस्तारलाई ख्याल गरेर एक चौकमा आकाशे पुल बनाउन कम्तीमा ६ करोड लागत लाग्ने अध्ययनका क्रममा देखिएको छ । दुवै चोकमा आकाशे पुल निर्माण गर्न मात्रै करिब १० करोड खर्च हुने देखिएको छ ।

तर दुई चौकमा ट्राफिक लाइट राख्दा करिब ५० लाख खर्च लाग्ने अनुमान ट्राफिक र ट्रान्सपोर्ट अनलिमिटेड सोलशुनले तयार गरेको प्रारम्भीक रिपोर्टमा उल्लेख छ । ‘अबको पाँच वर्षमा बढीमा ३० हजार सवारीको ओहोरदोहोर बढ्न सक्ने रिपोर्टमा समावेश गरेका छौं,’ ट्रान्सपोर्ट ईन्जिनियर पौडेलले थपिन, ‘फ्लाइ ओभर (आकाशे पुल) तत्काल आवश्यक नदेखिएकाले ट्राफिक लाइट राख्दा पनि कम्तिमा १० वर्षसम्म वीरेन्द्रनगरको ट्राफिक व्यवस्थापन गर्नमा कुनै कठिन देखिदैन् ।’

आकाशे पुल निर्माणमा केही समय लाग्ने तर ट्राफिक लाइटकाे हकमा छाेटाे समयमै काम सम्पन्न गर्न सकिनेछ अध्ययनले देखाएकाे छ । ट्राफिक लाइट जडानपछि परीक्षणका रुपमा एक हप्तासम्म विहान, दिउँसाे र साँझकाे सेट गरेर पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकिने पनि प्रारम्भीक रिपाेर्टमासमेत समावेश गरेकाे छ । तर ट्राफिक र ट्रान्सपोर्ट अनलिमिटेड सोलशुनकाअनुसार सम्भाव्यता रिपाेर्टमा ट्राफिक लाइट र विस्तारै आकाशे पुल निर्माण गर्ने सकिने विषय समावेश गरिनेछ ।

ट्राफिक व्यवस्थापनका लागि प्रदेशसँग सहकार्य गर्दै नगरपालिका
यरिचोक र मंगलगढी चोकमा ट्राफिक लाइट वा आकाशे पुल निर्माणको काम यहीँ आर्थिक वर्षबाट शुरुवात गरिने नगर प्रमुख मोहनमाया ढकाल बताउँछिन् । ‘यी दुवै काममध्य एउटा कामको शुरुवात यही आर्थिक वर्षमा गर्छौं,’ ढकालले भनिन्, ‘बढ्दो सवारी चापले चुनौती बनिरहेको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उदेश्यले बजेट नै विनियोजन गरिएको छ, सुरक्षित सडक बनाउने अभियानमा नगरपालिका गम्भीर छ ।’

प्रदेश राजधानीकाे ट्राफिक व्यवस्थापनलाई दीर्घकालिन रुपमा समाधान गर्न प्रदेश सरकारसँग समन्वय गरेर नगरपालिका अघि बढेकाे ढकालकाे भनाई छ । प्रदेश सरकार पनि राजधानीलाई व्यवस्थित बनाउन सकरात्मक रहेकाले यहाँकाे आवश्यकताका आधारमा कामलाई अघि बढाइने ढकालले उल्लेख गरिन् ।

तपाईको प्रतिक्रिया