आंशिक शिक्षकहरुले लगाए मध्यपश्चिम विश्वविद्यालयमा ताला

सुर्खेत । विभिन्न माग राख्दै  आंशिक शिक्षकहरुले मध्यपश्चिम विश्वविद्यालयका केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरुमा तालाबन्दी गरेका छन् ।  पठनपाठन नै बन्दर गरेर आन्दोलनमा उत्रिएको आंशिक शिक्षकहरुलाई अविलम्ब करारमा नियुक्ति गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेका हुन् ।



केन्द्रीय कार्यालयको मुलढोका, विस्तारित कार्यालय र केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरुमा तालाबन्दी गरिएको आन्दोलनरत आंशिक शिक्षक श्याम थापाले जानकारी दिए । ‘हामी लिखित, मौखिक सबै प्रक्रिया पूरा गरेर पढाउन थालेको १० वर्ष बित्यो । सेवा आयोगले पनि परीक्षा पनि लिएको छैन्,’ थापाले भने, ‘त्यसैले हामी आन्दोलिन हुँन बाध्य भयौं । हाम्रा मागहरु पूरा नभएसम्म चरणबद्ध आन्दोलन थाल्छौं ।’

उनका अनुसार मप विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मात्रै ३२ जना आंशिक शिक्षक रहेका छन् । शिक्षकहरुले आफनो समस्यालाई सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाला पक्षहरुलाई अनुरोध समेत गरेका छन् ।

उपकुलपति नन्दबहादुर सिंहले विश्वविद्यालयबाट बाहिरिदै गर्दा फागनु १५ गते आफ्नै निवासभित्र कोरम पुग्ने गरी कार्यकारीको अन्तिम बैठक बसालेर व्यापक नियुक्ति, सरुवा, बढुवा एवंम अन्य निर्णयहरु समेत गरेको आंशिक शिक्षकहरुको आरोप छ ।

‘अन्तिम बैठकबाट व्यापक नियुक्ति, सरुवा, बढुवा एवंम अन्य निर्णयहरु भएको भनेर सुनिएको र सो निर्णयहरुमा उपकुलपतिज्यू एवंम् कार्यकारी सदस्यहरुको स्वार्थकेन्द्रित केही निकटतस्थ आंशिक शिक्षकहरुलाई मात्र करार नियुक्ति दिइएको भन्ने अपुष्ट समाचार आइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त निर्णयबारे हामीले बारम्बार आधिकारिक निकायहरुमा बुझ्दा केही जानकारी नभएको भन्ने गैरजिम्मेवार जवाफ दिएकाले हामी मर्माहित भएका छौं ।’

झुटो आश्वासन र बन्द कोठाभित्रको स्वार्थ केन्द्रित निर्णयहरुले आफूहरुलाई आन्दोलित बनाउन बाध्य बनाएको आंशिक शिक्षकहरुले बताएका छन् । शुक्रबार दिउँसो ४ बजे विभिन्न प्रध्यापक संगठनसंग समन्वयात्मक छलफल गर्ने र थप आन्दोलनका कार्यक्रम घोषण गरिने शिक्षक थापाले बताए ।

तपाईको प्रतिक्रिया