रूकुमपश्चिमको जनकल्याण ३ कक्षामा पढ्ने विद्यार्थी शिक्षकबाट कुटिए

सुर्खेत । रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा रहेको एक विद्यालयमा शिक्षकबाट विद्यार्थी कुटिएका छन्। चौरजहारी नगरपालिका–१२ सानाखोलामा रहेको जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ३ मा पढ्ने विद्यार्थीमाथि कुटपिट भएको हो।



३ कक्षामा पढ्ने ८ वर्षीय बालक धिरज आचार्यलाई सोही विद्यालयमा अध्ययपक रहेका शिक्षक खडक रोकायाले कुटपिट गरेको आफन्तको आरोप छ।

बालक धिरज आचार्यका आफन्तका अनुसार मंगलबार दिउँसो शिक्षक रोकायाले बालकलाई कुटपिट गरेका हुन्। ‘विद्यालयमा बच्चाहरु गोलो घेरा हालेर नाचिरहेका रहेछन्। अरु सबै विद्यार्थी नाच्दै थिए। हाम्रो बाबुले आफुलाई नाच्न आउँदैन् भनेर नाचेनछ। अनी बेला विद्यार्थीहरुबीच झगडा परेपछि खडक सरले आएर मेरो बाबुलाई पिट्नु भएछ।’ विद्यार्थीका एक आफन्तले भने।

यस्तै, बालक धिरजले पनि विद्यालयमा शिक्षक रोकायाले आफुमाथि कुटपिट गरेको दाबी गरेका छन्। बालकले भने, ‘स्कुलमा गोलो घेरा हालेर विद्यार्थीहरु नाचिरहेका थिए। हामी नाचेनौं। अरु विद्यार्थीहरुले गएर शिक्षकसँग ननाचेको कुरा भनिदिएपछि शिक्षकले आएर मलाई हान्नु भएको हो।’

शिक्षकको कुटपिटबाट विद्यार्थी धिरजको टाउँकामा चोट तथा लगाएको ज्याकेट समेत च्यातिएको आफन्तले बताए। यस्तै, बाहिरी रुपमा केही चोट पटक नदेखिए पनि टाउँकोको भित्री भाग दुखिरहेको धिरजले बताएका छन्।

यता विद्यालयका प्रधानाध्यापक झुपलाल शर्माले विद्यार्थीमाथि शिक्षकले कुटपिट गरेको स्विकार गरेका छन्। हिजो भएको उक्त घटना आफुलाइ पनि जानकारी भएको तर, विद्यार्थीलाई त्यस्तो बाहिरी चोटपटक नलागेको उनले बताए। प्रधानाध्यपक शर्माले भने, ‘कुटिएका भनिएका विद्यार्थी बालक बेलुका लाइन लगाएपछि पिटी खेलेर घर फर्किएका हुन्। तालुमा हल्का चोट देखिएको थियो। ठूलो समस्या कुनै हैन्।’

प्रधानाध्यापक शर्माका अनुसार दिउँसो विद्यार्थीहरुको सामान्य झगडापछि आफुले बालक धिरजलाई हातले पिटेको शिक्षक खडक रोकायाले स्विकार गरिसकेका छन्।

यस्तै, प्रधानाध्यापक शर्माले घटना घटेको दिन विद्यार्थी घर पुगिसकेपछि अभिभावकले घटनाको बारेमा फोनबाट सम्पर्क गरेपछि आज (बुधबार) बिहान १० बजे विद्यालयमा बोलाएको बताए। उनले भने, ‘घटनाको विषयमा छलफलका लागि अभिभावकलाई विद्यालयमा आउनु भनेको थिए। तर, उहाँहरु उपचारमा जानु भएछ। बाहिर चोट देखिएको छैन्। भित्री चोट लागेको भए उपचार गर्नुपर्ने हुन्छ। यदी त्यसो भएको खण्डमा उपचारमा लाग्ने सबै खर्च शिक्षकले ब्यहोर्नुपर्ने हुनसक्छ।’

यस्तै, विद्यार्थीका आफन्तले बालकको उपचार रुकुमपश्चिममै रहेको चौरजहारी अस्पतालमा गराएको र थप उपचारका लागि अस्पतालले बाहिर पठाउनुपर्ने बताएको आफन्तको भनाइ छ।

साथै विद्यार्थीको कुटपिटको विषयलाई लिएर आवश्यक छलफलका लागि भन्दै दामोदर आचार्यले ईलाका प्रहरी कार्यालय जौरजहारीमा निवेदन समेत दिएका छन्।

यस्तै, केही दिन अगाडी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ गाग्रेतालमा रहेको नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालय कक्षा ५ मा पढ्ने ११ वर्षीय विद्यार्थी ललित रेग्मी पनि शिक्षिकाबाट कुटिएका थिए।

तपाईको प्रतिक्रिया