उपकुलपति सिंहसहितको टोलीद्वारा विद्यापुर बहुमुखी क्याम्पसको अनुगमन

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह तथा पदाधिकारीहरूको संयुक्त टोलीले विद्यापुर जनता बहुमुखी क्याम्पसको अनुगमन गरेको छ। सोमबार सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिकामा रहेको जनता बहुमुखी क्याम्पसमा अनुगमनका साथै अन्तरक्रिया भएको छ।



अन्तरक्रिया कार्यक्रममा सहभागी प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले आ(आफ्ना समस्या तथा गुनासाहरु राखेका थिए भने उपकुलपति प्रा.डा. सिंहले प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले राखेका गुनासा तथा समस्याहरुको सम्बोधन गरेका थिए।

साथै उपकुलपति सिंहले क्याम्पसको समग्र शैक्षिक गुणस्तर विकास गर्न क्याम्पस पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी र सरोकार वाला सबैले आ–आफ्नो स्थानबाट इमान्दारिताका साथ लाग्नु पर्ने कुरामा जोड दिए।

कार्यक्रममा पन्चपुरी नगरपालिकाका नगर प्रमुख लालविर भण्डारीले गरीब, असहाय र अनाथ विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्न आफुले प्राप्त गर्ने सेवा सुविधाबाट वार्षिक एक लाख गरी जम्मा कार्यकाल अवधिको ५ लाखको विद्यापुर जनता बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गर्ने बताए।

साथै प्रमुख भण्डारीले आफ्नो कार्यकाल पश्चात तथा जिवनोपर्यन्त समेत उक्त अक्षयकोषमा सक्दो योगदान निरन्तर रहने प्रतिवद्धता जाहेर गरे।

यस्तै, विद्यापुर जनता बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सचिव जनक विष्टले क्याम्पसमा अक्षय कोष निर्माणका लागी ५० हजार प्रदान गर्ने घोषणा गरेका थिए।

त्यसैगरी क्याम्पसको छात्रवृति कोषका लागि क्याम्पसका पुर्व क्याम्पस प्रमुख डिल्लीराम भण्डारीले एक लाख र समाजसेवी हेमप्रकाश भुसालले एक लाख एक हजार एक सय १५ रकम प्राप्त भईसकेको क्याम्पस प्रमुख तिर्थबहादुर शाहीले जानकारी दिए।

उक्त कार्यक्रममा सोही क्याम्पसमा अध्ययनरत विद्यार्थी रतन विकले स्नातक तह प्रथम सेमेस्टरको सत्रान्त परीक्षा ३.७३ जीपिए प्राप्त गरी विश्वविद्यालय प्रथम गरेकोमा उपकुलपतिले बधाई तथा सम्मान गरेका थिए।

अनुगमन टोलीले क्याम्पसको भवन, कक्षाकोठा, छात्रावास, क्यान्टिन, लाइब्रेरी, खेल मैदान, शौचालय लगायत समग्र क्याम्पसको अवस्था बारे अनुगमन गरेको थियो।

अनुगमनको क्रममा देखिएका सकारात्मक प्रयासको प्रसंशा गर्नुका साथै कमी, कमजोरी तथा सुधार गर्नुपर्ने पक्षहरुमा क्याम्पस प्रशासनले आवश्यक कदम चाल्नुपर्ने गरी उपकुलपति सिंहले निर्देशन दिए।

जनता बहुमुखी क्याम्पसद्वारा आयोजित स्वागत, अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि विश्वविद्यालयका उपकुलपति सिंह र क्याम्पसका क्याम्पस प्रमुख उप.प्रा. तिर्थबहादुर शाहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया