सुर्खेत । राष्ट्रिय गौरवको भेरी-बबई बहुउद्देश्यीय आयोजनाले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७१/७२ बाट सुरु भएको आयोजना आगामी आर्थिक वर्ष २०८४/८५ सम्म सम्पन्न गरिसक्नुपर्ने कार्यादेश रहेको आयोजनाले हालसम्म ६५ दशमलव ६९ प्रतिशत कार्य सम्पन्न गरेको छ ।
कुल ३३ अर्ब १९ करोड ६६ लाख लागतमा निर्माण हुने यो आयोजनाले ५७ दशमलव ७८ प्रतिशत वित्तीय प्रगतिसमेत हासिल गरेको छ । यो वार्षिक लक्ष्यको तुलनामा चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३३ दशमलव ३७ प्रतिशतले बढी हो । स्वीकृत गुरुयोजनाबमोजिम कुल लागत ३३ अर्ब १९ करोड ६६ लाख विनियोजित बजेटमा हालसम्म १५ अर्ब ५० करोड ६ लाख खर्च भइसकेको छ ।


वार्षिक बजेट एवं खर्चको अवस्था हेर्दा चालु आर्थिक वर्षमा विनियोजित कुल १ अर्ब ५९ करोड बजेटमध्ये माघ मसान्तसम्ममा ४९ करोड ७१ लाख खर्च भएको छ । नेपाल सरकारको स्रोतमा बहुउद्देश्यीय जल स्थानान्तरण आयोजनाको रूपमा कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको भेरी बबई आयोजनाको पहिलो चरणको काममा १२ दशमलव २० किलोमिटर लामो टनेल निर्माणको काम सम्पन्न भइसकेको छ ।
पहिलो चरणमा आयोजनाको सुरुङ मार्ग निर्माणको काम सम्पन्न भएपछि हाल दोस्रो चरणमा बाँध निर्माणस्थल चिप्लेमा हेडवर्क्स निर्माण कार्य जारी छ । जसअन्तर्गत जम्मा छवटा वेमध्ये दुईवटा वे निर्माण अन्तिम चरणमा रहेको र बाँकी चार वे निर्माणका लागि नदी फर्काउने तयारी भइरहेको आयोजनाका सूचना अधिकारी अधिकारीले बताए ।
हेडवर्क्स साइट चिप्लेस्थित छिन्चु जाजरकोट सडक खण्डको डाइभर्सन सडक निर्माण सम्पन्न भएको छ भने, चिप्ले–खोल्सी डाइभर्सन निर्माणमा पहिलो चरणको काम सम्पन्न भई दोश्रो चरणको कार्य सुचारु रहेको आयोजनाले जनाएको छ ।
पावर हाउस निर्माण स्थल हात्तिखोलामा स्लोप प्रोटेक्सनको कार्य अन्तिम चरणमा रही फाउन्डेसन निर्माण कार्य सुरु भएको छ । यस्तै, कोफर्ड ड्याम, एंकर ब्लक निर्माण, सर्जसाफ्टका लागि नालासहितको पहुँचमार्ग, स्लोभ संरक्षणका लागि ढलान कार्य सम्पन्न भई साफ्ट खन्ने तयारी गरिएको छ । साथै, पावरहाउसस्थल हात्तीखोलामा क्रसर प्लान्ट स्थापना भई आयोजनालाई आवश्यक पर्ने निर्माण सामग्री उत्पादनको अन्तिम तयारी छ ।

यस्तै, हाइड्रोमेकानिकलतर्फ हेडवर्क्समा २ वेको पयिर डीएफ स्टिल लाइनिङ गर्ने कार्य अन्तिम चरणमा पुगेको छ भने, यसअन्तर्गत निर्माण गरिने विभिन्न संरचनाहरूको डिजाइन तथा रेखाङ्कनहरू स्वीकृतिको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ ।
इलेक्ट्रोमेकानिकल निर्माण कार्यअन्तर्गत टर्बाइनको नमुना टेस्ट सम्पन्न भएको छ, विभिन्न महत्त्वपूर्ण उपकरणहरूको डिजाइन स्वीकृति तथा केही स्वीकृतिका क्रममा छन् भने केही उपकरणहरूको डिजाइन भइरहेको सूचना अधिकारी अधिकारीले जानकारी दिए ।
आयोजनामा जग्गा प्राप्तिका लागि मुआब्जा निर्धारण समितिबाट दररेट र्निधारण भई रैकर जग्गाको हकमा ८ दशमलव ११४ हेक्टर जग्गाको मुआब्जा वितरण कार्य सम्पन्न भएको छ । झण्डै १० दशमलव ५९ हेक्टर जग्गा प्राप्तिका लागि सूचना प्रकाशन भई अन्तिम भेरिफिकेसन सम्पन्न भई प्राप्तिको चरणमा छ ।
बबई मानखोला डाइभर्सन आयोजनाअन्तर्गत बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जको कोर क्षेत्र भएर जाने हुँदा सोको विस्तृत सम्भाव्यता अध्ययन कार्यका लागि बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जसँगको समन्वयमा सम्भाव्यता अध्ययनका फिल्ड कार्यहरू भइरहेका छन् ।
यस्तै, अनुकूल मौसम रहँदा निर्माणस्थलमा दुई सिफ्टमा काम भइरहेको आयोजनाले सामाजिक विकास तथा वातावरणीय सुधार कार्यक्रमअन्तर्गत विभिन्न प्रभावित क्षेत्रमा भएका माग तथा आवश्यकताका आधारमा विभिन्न कार्यहरूसमेत गर्दै आएको छ ।

नेपाल कर्म । ८ फाल्गुन २०८०, मंगलवार ११:२५