पश्चिम नेपालमा वर्षाकाे सम्भावना, शनिबारदेखि मात्र मौसम सुधार हुने

काठमाडाैं ।  पश्चिमी वायु नेपाल प्रवेश गरेसँगै धेरै स्थानमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । माैसम सम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको असरले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हाे ।




महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि शुक्रबारसम्म नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ । शनिबारदेखि मात्र मौसम सुधार हुँदै जाने छ ।

यो प्रणाली गत माघ तेस्रो साताको प्रणालीभन्दा शक्तिशाली छ । त्यसैले त्यतिबेलाको भन्दा यसपटक अलि बढी बादल र वर्षा हुने प्रक्षेपण छ । पश्चिमी वायु नेपाल छिरिसकेकाले अधिकांश स्थानमा आइतबारदेखि नै बादल लागिसकेको छ ।

यो प्रणालीको असर देशभर एकनासको भने हुनेछैन । यसको प्रभाव पश्चिम नेपालमा बढी हुनेछ, मध्य भेगमा हल्का र पूर्वी तराइमा न्यून प्रभाव रहने देखिन्छ । पश्चिमी भूभाग, विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका माथिल्लो भेगमा राम्रै वर्षा हुने सम्भावना छ ।

मंगलबार यसको असर अझै बढी देखिने छ । त्यसैले सुदूरपश्चिम र कर्णाली प्रदेशभर मंगलबार पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ ।

पश्चिमी वायु अहिलेको प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जानेछ । त्यसक्रममा मंगलबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

तपाईको प्रतिक्रिया