अनि भयाे अस्पतालमा जनशक्ति तेब्बर

विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको अभाव यस अस्पतालले सुरूवाती समयदेखि भोग्दै आएको एक प्रमुख समस्या हो । सरकारले दरबन्दी अनुसारका चिकित्सक तथा विशेषज्ञ चिकित्सक नपठाउने र पठाएको खण्डमा पनि ती चिकित्सकहरू अस्पतालमा नआउने समस्या प्रमुख चुनौतीको रूपमा रह्यो ।



विगतका वर्षमा अस्पताल प्रमुखको जिम्मेवारी पाएका चिकित्सकसमेत नियमित रूपमा अस्पतालमा नबस्ने तितो यथार्थ हामीले देख्न पायौ। यस्तो अवस्थामा अन्य चिकित्सक र स्वास्थ्यकर्मीलाई काम गर्ने उत्प्रेरणा कसरी प्राप्त हुन्छ ? आर्थिक वर्ष २०७०/७१ को जनशक्तिको अवस्था हेर्दा उतिबेलाको अवस्था स्पष्ट हुन्छ । उतिबेला अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टसहित २४ जना चिकित्सकको दरबन्दी थियो ।

तर दरबन्दीमा ९ जनामात्र कार्यरत थिए। उक्त आर्थिक वर्षमा प्रमुख कन्सल्ट्यान्ट चिकित्सकको दरबन्दी ३ जना रहेकोमा सबै रिक्त थियो । कन्सल्ट्यान्ट चिकित्सकको १४ दरबन्दी रहेकोमा ४ जनामात्र दरबन्दीमा कार्यरत थिए। त्यसैगरी मेडिकल अफिसर ५ जनाको दरबन्दी रहेकोमा ३ जना कार्यरत थिए ।

यस्तो अवस्थामा हामीसामु बिरामीको चापलाई मध्यनजर गर्दै चिकित्सकको दरबन्दी थप्ने र दरबन्दीअनुसार चिकित्सक ल्याउने ठूलो चुनौती रह्यो । हामीले संघीय सरकार र प्रदेश सरकारलाई पर्याप्त चिकित्सक व्यवस्थापनका लागि आग्रह गन्यौ । प्रस्ताव तयार पारेर सरकारलाई त्यसमा कन्भिन्स गरायौ ।

यसका लागि जिल्लाबाट प्रतिनिधित्व गर्न र केन्द्रीय राजनीतिमा प्रभाव पार्ने राजनीतिक दलका नेताहरूको सहयोग जुटायौ। अहिले हामीसँग तत्कालीन अवस्थामा भन्दा ३ गुणा बढी चिकित्सकको दरबन्दी रहेको छ। कर्णाली प्रदेश सरकारले एकजना अस्पताल निर्देशकसहित ७५ जना चिकित्सकको दरबन्दी स्वीकृत गरेको छ । त्यसमध्ये ५० जना कन्सल्ट्यान्ट चिकित्सक र २५ जना मेडिकल डेन्टल अफिसर रहेका छन् ।

अझ सुखद पक्ष हामीसँग दरबन्दीभन्दा पनि बढी चिकित्सक कार्यरत रहेका छन्। करार र छात्रवृत्तिका समेत गरी ८४ जना चिकित्सक कार्यरत रहेका छन्। आर्थिक वर्ष २०७९/८० मा अस्पतालमा स्थायी दरबन्दी, करार तथा छात्रवृत्ति र अस्पताल विकास समितिबाट समेत गरी ५ सय १७ जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत रहेका छन् ।

हामीले २०७५ सालमै विशेषज्ञ सेवा विस्तार कार्यक्रममार्फत विशेषज्ञ चिकित्सक नियुक्तिलाई तीब्रता दिएका थियौ । उक्त कार्यक्रमअन्तर्गत रिक्त दरबन्दीको अभाव पूर्ति गर्ने गरी करारमा चिकित्सक भर्ना गरिए । यसले अस्पताललाई राहतमात्र दिएन, सेवा प्रवाहलाई समेत प्रभावकारी बनायो ।

पर्याप्त जनशक्ति व्यवस्थापनले हाल अस्पतालको सेवा प्रवाहमा सहजता भएको छ । कर्णालीबासीले कर्णालीमै स्तरीय स्वास्थ्यसेवा पाउने वातावरण बनेको छ । हामीले अझै पनि प्रदेश सरकारसँग थप जनशक्ति व्यवस्थापनको लागि माग गरिरहेका छौ।

शैया थपको स्वीकृतिसँगै सोहीअनुसार दरबन्दी वृद्धि हुने अस्पतालले विश्वास लिएको छ। छात्रवृत्तिमा एमडी/एमएस अध्ययन गरेका चिकित्सकलाई अस्पतालमा खटाउन संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पहल गरेका छौ। संघीय सरकारले पनि यसमा सहयोग गरिरहेको छ ।

तपाईको प्रतिक्रिया