स्वास्थ्य केन्द्रबाट जिल्ला अस्पताल हुँदै क्षेत्रीय अस्पतालमा स्तरोन्नति हुँदासम्म यस अस्पतालले राज्यबाट सधैं सौतेनी व्यवहार खेप्नुपर्यो । विगतमा राज्यले विभिन्न नाममा रूपान्तरण गरे पनि पर्याप्त लगानी नगर्दा प्रभावकारी सेवा प्रवाह हुन नसकेको तितो इतिहास हामीसामु स्पष्ट छ ।

विशेषगरी पछिल्लो दसकमा अस्पतालले भौतिक संरचनामा उल्लेख्य उपलब्धि प्राप्त गरेको छ । जिल्ला अस्पतालबाट स्तरोन्नति भएर क्षेत्रीय अस्पताल बनेपछि तत्कालीन स्वास्थ्य तालिम केन्द्रको भवनबाट अस्पतालले सेवा प्रवाह सुरू गर्यो ।

कमजोर भौतिक पूर्वाधारमात्र होइन, आवश्यक जनशक्ति र स्वास्थ्य उपकरणको कमीले लामो समयसम्म नाम मात्रको क्षेत्रीय अस्पताल रह्यो । सोही क्रममा २०७३ जेठ २५ गते एक तले नयाँ भवनको उद्घाटन गरी बहिरंग (ओपिडी) सेवा सुरू गरियो ।
यसका साथै दिनानुदिन सेवाग्राहीको बढ्दो चापलाई ध्यानमा राखेर २ वटा प्रिफेब भवन निर्माण गरी मेटरनिटी वार्ड र आइसीयू/एनआइसीयू सञ्चालन गरियो । तालिम केन्द्रमा रहेको पुरानो अस्पताल भवनमा मनोरम बगैंचा निर्माण गरियो ।
दुईवटा प्रिफेब भवनको बीचमा प्रसुती वार्डको अगाडि बिरामी कुरुवा प्रतिक्षालय बनाइयो । २०७४ मा अस्पताललाई ३ सय सैयाको बनाउनका लागि नयाँ वन निर्माण कार्य सुरू गरियो । अहिले अस्पतालको सम्पूर्ण सेवा ३ वटा एकमा रहेका तीन तले नयाँ भवनबाट चलिरहेको छ ।
चालू आर्थिक वर्षमा त्याधुनिक प्रशासनिक भवन निर्माणकार्य चलिरहेको छ । यसका साथै ५ सय शैया सञ्चालनका लागि भवन निर्माण कार्य तीव्रताका साथ भइरहेको छ । भवन निर्माणले पूर्णता पाएमा सहजै स्वीकृत शैयामा अस्पताल सेवा प्रवाह गर्न सकिनेछ ।

आइएनएफको सहयोगमा फिस्टुला भवन निर्माण गरिएको छ । अस्पताल परिसरमा मनोरम बगैंचा निर्माण गरिनुका साथै प्रसुती वार्ड अगाडि बिरामी प्रतिक्षालय बनाइएको छ ।
अस्पताल परिसरको वातावरणलाई स्वच्छ बनाउन सडकहरू कालोपत्रे गर्नुका साथै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी र आमनागरिकका लागि छुट्टाछुट्टै व्यवस्थित पार्किङस्थल निर्माण गरिएको छ ।
कर्मचारी आवासदेखि नयाँ भवन आउन आकाशे पुल र बाटो निर्माण गरिएको छ । अक्सिजन प्लान्ट तथा पाइपलाइन जडान गरी सञ्चालन गरिएको छ । यसबाट अक्सिजन अभावको वर्षोंदेखिको समस्या समाधान भएको छ ।
अक्सिजन आवश्यक पर्ने बिरामीलाई पनि सहजता भएको छ । अस्पतालको सुरक्षा र सरसफाईमा सुधार भएको छ । सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै अधिकांश क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।
यसले बाह्य सुरक्षालाई मजबुत बनाउनुका साथै आन्तरिक रूपमा समेत कर्तव्य पालनामा निगरानी बढाएको छ । अस्पतालजन्य फोहोरहरू निर्मलीकरण गर्न ‘अटोक्लेभ’ मार्फत संक्रमणरहीत बिसर्जन गर्ने व्यवस्था मिलाइएको छ ।
अस्पतालमा खानेपानीको आपर्तिका लागि २०७६ सालमा ३ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण गरिएको छ । यसले अस्पतालमा पानी अभावको समस्या समाधान भएको छ ।

डा. डम्बर खड्का । ६ फाल्गुन २०८०, आईतवार १७:५५