सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी दैलेखको अध्यक्षमा सूर्यबहादुर शाही सर्वसम्मत चयन भएका छन्। नारायण नगरपालिका दैलेखमा जारी आठौँ जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।

उपाध्यक्षमा प्रेमबहादुर बुढा पनि सर्वसम्मत निर्वाचन भएका छन्। अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये तिलकप्रसाद रिजाल, नन्दकिशोर बस्नेत र प्रेमबहादुर बुढाले शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएकाे छ ।

अध्यक्षमा सर्वसम्मत चयन भएका शाही यसअघि सातौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा पराजित भएका थिए। जिल्ला विकास समितिको उपसभापति हुँदै यसअघि भूमि समस्या समाधान आयोग दैलेखको अध्यक्ष भइसकेका शाहीसँग राजनीतिको लामो अनुभव छ।

यस्तै, अध्यक्षमा उम्मेदवारी दिएका हालका कार्यबाहक अध्यक्ष तथा पार्टी उपाध्यक्ष प्रेमबहादुर बुढा उपाध्यक्षमै दोहोरिएका छन्। उपाध्यक्ष बुढा २०७४ को स्थानीय तह निर्वाचनमा भैरवी गाउँपालिकाको अध्यक्ष भइसकेका नेता हुन् ।
दैलेखकाे कमिटीकाे सचिवमा हिमालयजंग शाह, उप–सचिवमा तारा कुमारी सोनी र भीमबहादुर बुढाक्षेत्री सर्वसम्मत चयन भएका छन् ।


नेपाल कर्म । १ फाल्गुन २०८०, मंगलवार १३:३६