सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–३, मा रहेको प्रशान्ति बृद्धाश्रम सञ्चालनमा दाताहरुकै भर पर्नुपर्ने बाध्यता छ । सरकारी चासो नभएपनि साहार विहिन जेष्ठ नागरिकको दैनिकी विभिन्न सामाजिक संघ संस्था तथा दाताले दिने सहयोगले चल्ने गरेको हाे ।

असक्त तथा बेसहरा जेष्ठ नागरिकहरुको संरक्षण गर्दै आएको बृद्धाश्रमलाई नेपाली सेनाले खाद्यान्न सहयोग गरेको छ । सोमबार नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटर तथा यस अन्तर्गतका युनिटबाट संकलित खाद्य सामाग्री राहतस्वरुप आश्रमलाई हस्तान्तरण गरिएको हो ।
उक्त राहत सामाग्री उत्तर पश्चिम पृतना सुर्खेतका महासेनानी सुदिप केसीले आश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । राहत सामाग्री हस्तारन्तरण पछि बोल्दै महासेनानी केसीले जेष्ठ नागरिकको संरक्षण र सम्वद्र्धनमा केही हदसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले आश्रमलाई सहयोग गरेको बताए ।

हरेक सुख दुखमा नेपाली सेना साथमा रहेको उल्लेख गर्दै उनले भविष्यमा पनि सहयोगलाई निरन्तरता दिने बताए । सेनाले खाद्य बैंक स्थापना गरी मानवलाई आश्रय दिइरहेका विभिन्न सामाजिक संस्थालाई प्रत्येक युनिटले एक व्यक्तिका लागि आवश्यक पर्ने खाद्य सामाग्री व्यवस्थापन गरी हस्तान्तरण गर्दै आएको छ । यस्तै, सेनाले हरेक महिनाको अन्तिम शनिवार आश्रममा रहेका जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य जाँचसमेत गर्ने गरेको छ ।
२०५४ सालमा स्थापना भएको आश्रमले विभिन्न कारणले समाज तथा परिवारबाट अलग भई कष्टकर जीवन बिताउन बाध्य २६ जना जेष्ठ नागरिकको पालन पोषणको काम गर्दै आएको छ ।

सन्तान नभएका, भएका पनि सम्पर्कमा नभएका, अंशवण्डाको मुद्दा तथा उमेरसँगै आउने शारीरिक अशक्तताले सिर्जित समस्याका कारण अधिकांश जेष्ठ नागरिक बृद्धाश्रमसम्म पुग्ने गरेको बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ बताउछन् ।
घरपरिवारको साहारा नपाएपछि आश्रमको सम्पर्कमा आउने जेष्ठ नागरिकलाई परिवारसँगको परामर्शमा पुनः मिलन गराउने गरिएको उनले बताए । आश्रमको सञ्चालन तथा व्यवस्थापनमा सरकारको केही हदसम्म सहयोग भए पनि त्यो प¥याप्त भने छैन । यसमा राज्यका तीनै तहका सरकारले खासै ध्यान दिन सकेका छैनन् ।
आश्रम सञ्चालनका लागि १ करोड ३५ लाखको अक्षयकोष स्थापना गरिएको छ । सोही अक्षयकोषबाट प्राप्त हुने व्याज तथा विभिन्न सामाजिक संघसंस्थाको मुठ्ठीदानबाट आश्रम सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।
जसका लागि १ सय २ जनाले अक्षयकोष स्थापना गरिदिएका छन् । यसका अलवा आश्रमले विभिन्न विद्यालयमा मुठ्ठी दान संकलनको अभियानमार्फत परिवारबाट विछोड भई कष्टकर जीवन बिताइरहेका जेष्ठ नागरिकलाई आश्रय दिइरहेको छ ।

नेपाल कर्म । २९ माघ २०८०, सोमबार १३:५२