मंगलगढी-काँक्रेविहार सडक

ठेकेदारले काम नगर्दा धरौटी जफत, कालो सूचिमा राख्ने तयारी

सुर्खेत । सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार जाने मंगलगडी–लाटीकोइली सडक निर्माण अलपत्र पार्ने ठेकेदारको धरौटी जफत गरिएको छ । वर्षाैदेखि सडक अलपत्र पारेर काम नगर्ने निर्माण कम्पनी अमर–सिस्ने नेपाल–मेघा जेभी कम्पनीको धरौटी रकम जफत गरिएको हो ।




पटक–पटक ताकेता गर्दापनि काम नगरेपछि धरौटी रकम जफत गरिएको पूर्वाधार विकास निर्देशनालयका सूचना अधिकारी हरी शर्मा धितालले जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीको धरौटी वाफतको ८७ लाख रकम जफत गरी कार्यालयको खातामा जम्मा गरिएकको छ ।

निर्देशनालयका अनुसार ठेक्का सम्झौतापछि कम्पनीले कुल रकमको १० प्रतिशत रकम पेश्की स्वरुप अग्रिम भूक्तानी लिएको थियो । २०८० फागुन १५ गतेसम्म काम सम्पन्न गर्नेगरी कम्पनीले १२ करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

तर सम्झौताअनुसार कम्पनीले काम नगरेपछि अहिले कम्पनीको धरौटी जफत गरिएको हो । अब सम्झौता मितिभित्र काम नगर्ने पक्कापक्की भएपछि कम्पनीलाई कालोसूचिमा राख्ने समेत तयारी भएको छ । सम्झौता मिति सकिन अब १६ दिनमात्रै बाँकी रहेकाले त्यसपछि म्याद थप गर्ने वा ठेक्का सम्झौता तोड्ने भन्ने प्रक्रिया सुरु हुनेछ ।

कुनै अवरोध नहुँदा पनि निर्माण कम्पनीले काम नगरेपछि कार्यालयले धरौटी रकम जफत गर्दै निर्माण कम्पनीलाई ताकेता दिइरहेको छ । वर्षौंदेखि अलपत्र सडक मंगलगढी चोकदेखि लाटीकोइलीको शिवमन्दिसम्म स्तरोन्नती गर्नुपर्ने हो । तर काम नै नभएपछि स्थानीय नागरिकले समेत सास्ती बेहोर्नुपरेको छ ।

वडादेखि नगरपालिकाले समेत पूर्वाधार विकास निर्देशनालय सुर्खेतलाई ठेक्का तोड्न भनिरहेका छन् । काम नगर्ने ठेकेदारको ठेक्का तोडेर नयाँ ठेक्कामार्फत् काम गर्न नागरिकको सुझाव छ । सडक निर्माणमा ठेकेदार कम्पनीले चरम लापरबाही गरेको, काम गर्छु भन्दै झुक्याएको र अटेरी गरेका कारण कार्यालयले कानुनी कदम चाल्नु परेको निर्देशनालयका सब–इन्जिनियर प्रेमचन्द पाण्डेले बनाए ।

उनकाअनुसार उक्त सडक यसअघि प्रदेशको पूर्वाधार विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रूपमा ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएका थिए । तर पछि निर्देशनालयले मात्रै जिम्मा लिएर ठेकेदार कम्पनीसँग पछिल्लो पटक २०७८ मा पुनः सम्झौता गरेको थियो ।

कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालयले २०७८ मंसिर १४ मा अमर–सिस्ने नेपाल–मेघा जेभी कम्पनीसँग सडक स्तरोन्नतिका लागि सम्झौता गरेको थियो । दुई हजार चार सय मिटर सडकको काम अहिलेसम्म ४३ प्रतिशत मात्र सकिएको छ ।

सडकमा अहिलेसम्म नाला निर्माण, फिलिङ गर्ने लगायतका कामहरू मात्रै भएका छन् । ठेकदारको लापरबाहीका कारण बनेको पूर्वाधारका कामहरू पनि जीर्ण बनिरहेको निर्देशनालयले जनाएको छ । निर्माण अवधि सकिए लगत्तै थप कानुनी प्रक्रिया थाल्ने कार्यालयले जनाएको छ ।

प्रदेशकै प्रमुख पर्यटकीय स्थल काँक्रेविहार जाने सडक वर्षौंदेखि अस्तव्यस्त छ । मङ्गलगढी चोकदेखि लाटीकोइलीको शिव मन्दिरसम्मको सडक स्तरोन्नति नहुँदा स्थानीय नागरिकसँगै काँक्रेविहार पुग्ने पर्यटकले समेत यात्रामा सास्ती बेहोर्नु परेको छ ।

त्यसैमा झन् दैनिक सोही बाटो भएर विद्यालय जाने विद्यार्थीले भोग्नुपरेको सास्ती पीडादायक छ । सडकमा खाल्टाखुल्टीको समस्या पनि उत्तिकै छ । सडकमा खाल्टाखुल्टी र धुलो, धुवाँले हिँड्नै सकिने अवस्था छैन । लामो समयदेखि जीर्ण अवस्थामा रहेको यो सडक स्तरोन्नति थालिए पनि काम नै सुस्त गतिमा छ । सडक स्तरोन्नतिमा ढिलाइ हुँदा नागरिकले सास्ती भोग्नु परिरहेको छ ।

तपाईको प्रतिक्रिया