मदन भण्डारी राजमार्ग : सुर्खेतको पूर्वी खण्डमा स्तरोन्नतिको काममा तिव्रता

सुर्खेत । मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पूर्वी खण्डमा स्तरोन्नतिको कामले गति लिएको छ । पूर्वी खण्डमा पर्ने धुलियाबिटदेखि भेडाबारीसम्मको ३५ किलोमिटर सडक स्तरोन्नतिको कामले गति लिएको हो ।



मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका अनुसार हालसम्म ६० प्रतिशत स्तरोन्नतिको काम सम्पन्न भएको छ । भित्री मधेशसहित चुरे क्षेत्रका जिल्लाको समृद्धिको ढोका मानिएको आयोजनाअन्तर्गत सुर्खेत पूर्वी खण्डमा नीतिगत अल्झन सुल्झिएसँगै स्तरोन्नतिले गति लिएको हो ।

दन भण्डारी राजमार्ग अन्तरगत सुर्खेतको लेकवेशी नगरपालिकाको बाघखोर र खोल्टेपानी क्षेत्रमा गरिएको कालोपत्रे ।

लामो समयदेखि आयोजनाले प्रभावित क्षेत्रमा रुख कटानको अनुमति नपाउँदा काम रोकिएको थियो । हालसम्म आयोजनाको क्षेत्राधिकारभित्र पर्ने कुल ३५ किलोमिटर सडकमध्ये १० किलोमिटरमा कालोपत्रे सम्पन्न भइसकेको छ ।

यद्यपि, गुर्भाकोट नगरपालिकाको गुमी र लेकवेशी नगरपालिकाको खोल्टेपानी क्षेत्रमा स्थानीयको अवरोधका कारण ७ सय मिटर सडक बन्न सकेको छैन । खोल्टेपानी खण्डको २ सय मिटर क्षेत्रमा स्थानीयले उचित मुआब्जा पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि निर्माणको काम रोकिएको छ ।

यस्तै, गुमी क्षेत्रमा ५ सय मिटर सार्नुपर्ने माग अगाडि सार्दै स्थानीयले सडक निर्माण गर्न दिएका छैनन् । विवाद भएका यी दुई ठाउँलाई छाडेर आयोजनाले अन्य क्षेत्रमा काम गरिरहेको छ । आयोजनाको बाँकी क्षेत्रमा पुल, कल्भर्ट, ग्याबिन, नाला, सडक चौडा तथा ग्राभेल बिछ्याउने काम धमाधम भइरहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका प्रमुख शम्भुप्रसाद आचार्यले जानकारी दिए ।

आगामी पुससम्म आयोजना सम्पन्न गर्ने गरी म्याद थप भएको भए पनि एकाधबाहेक सबै काम असार मसान्तसम्म सक्ने लक्ष्य अनुरुप निर्माणको काम जारी राखेको प्रमुख आचार्यले बताए । यो खण्डमा कुल १ अर्ब ३ करोड २३ लाख भ्याटसहित बजेट रहेको आयोजना निर्माणको जिम्मा कालिका केएस विन्दासी कन्स्ट्रक्सन प्रालिले पाएको छ । प्रालिले विभिन्न खण्डमा विभाजन गरी स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ ।

संघीय सरकारले आयोजनालाई रुख कटानको अनुमति दिएसँगै वीरेन्द्रनगर नगरपालिका र लेकवेशी नगरपालिका क्षेत्रमा सडक चौडा तथा ग्राभेल गर्ने काम निर्माण कम्पनीले जारी राखेको छ । हाल ४ मिटर रहेको सडकलाई विस्तार गरी ९ मिटर बनाइने छ ।

यस्तै, यो खण्डमा १२ वटा पक्की पुल निर्माण भइरहेका छन् । २०७८ फागुनमा निर्माण सम्झौता भएका पुलमध्ये सातवटाले ६० प्रतिशत र पाँचवटाले ५० प्रतिशत भौतिक प्रगति गरिसकेका छन् । सम्झौता पश्चात पुलको डिजाइन अवधि लामो राखिएकाले गत चैतबाट मात्रै निर्माणको काम थालिएको थियो ।

१२ मध्ये ७ पुल २६ करोड ५६ लाखमा हिम सगरमाथा कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ भने १३ करोड ७९ लाख भ्याटसहित केएस कन्स्ट्रक्सनले ५ वटा पुल निर्माण गरिरहेको छ । आयोजनामा कुनै खालका बाधा नपरे तोकिएको समयअगावै स्तरोन्नतिको काम सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।

यो सडक स्तरोन्नति भए वीरेन्द्रनगर नगरपालिकाका-११ र १३, लेकबेँसी नगरपालिकाका १, २, ३, ४, ६, ७, ९ र १० तथा गुर्भाकोट नगरपालिकाका १०, ११, १२, १३ र १४ का स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यस्तै, यो सडक स्तरोन्नति भएसँगै सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णालीका १० वटै जिल्लाका नागरिकलाई संघीय राजधानी आउजाउ गर्न लुम्बिनी प्रदेशको नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्नेछ । कच्ची र जीर्ण सडकका कारण यो क्षेत्र आसपासका बासिन्दाले दशकौँदेखि सास्ती खेप्दै आएका छन् । यो रुटमा बर्खामा सडक हिलाम्मे हुन्छ भने हिउँदमा धुलाम्मे । धुलियाविट-भेडाबारी सडकको २०३६ सालमै ट्र्याक खोलिएको थियो ।

सडक निर्माण थालेको ४ दशकपछि मदन भण्डारी राजमार्ग नामकरण गरी सुधारको काम अघि बढेपछि स्थानीय खुसी भएका छन् । सडक स्तरोन्नतिको काम सम्पन्न भए बाह्रै महिना यातायात सञ्चालनमा सहज हुने अपेक्षा राखेको लेकबेँसी नगरपालिकाका स्थानीय थिरबहादुर थापाले बताए ।

समृद्धिको मार्ग बन्ने अपेक्षा

मध्यपहाडी लोकमार्ग र पूर्वपश्चिम राजमार्गको बीचमा बन्ने यो राजमार्गले चुरे आसपासका क्षेत्रलाई समेट्दै पूर्वको झापालाई पश्चिमको डडेल्धुरासँग जोड्नेछ । यो सडकले भित्री मधेशसहित चुरेभावर क्षेत्रका जिल्लामा समृद्धि र विकासको नयाँ ढोका खोल्ने अपेक्षा राखिएको छ ।

यो राजमार्गको अधिकतम लाभ सुर्खेतले लिनेछ । सुर्खेतको बीच भागमा पर्ने हुँदा राजमार्ग आसपासमा विस्तारै शहरीकरण बढ्दै गएको छ । साना तथा मझौला उद्योग स्थापना हुँदै गएका छन् ।

व्यावसायिक कृषि पेसामा लाग्नेहरूको संख्यासमेत बढ्दै छ । स्थानीय उत्पादनले सहज बजार पाउँदा नागरिकको जीवीकोपार्जन सुधारमा यो राजमार्गले महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ । यो सडक निर्माण सम्पन्न भएपछि नेपालगञ्जमा निर्भर सुर्खेतको बजार सुदूरपश्चिम प्रदेशको कैलाली, धनगढी तथा पूर्वमा लुम्बिनीका दाङलगायतका जिल्लासँग जोडिनेछ ।

कृषि र पशुपालनमा ठूलो सम्भावना बोकेको सुर्खेतका लागि मदन भण्डारी राजमार्ग बरदान सावित हुनेमा दुई मत छैन । भौगोलिक विकटता, अविकासजस्ता कारणले पछिल्लो समय रित्तिँदै गएको भित्री मधेशको साख जोगाउन पनि यो राजमार्ग उत्तिकै महत्त्वपूर्ण मानिएको छ ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बनाइने यो राजमार्ग झापाको शान्तिनगरबाट सुरु भई सुनसरीको धरान, चतरा, उदयरपुरको गाइघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको रिडी पुग्नेछ ।

त्यस्तै, गुल्मीको सदरमुकाम तम्घास, प्युठानको बिजुवार, रोल्पाको लिवाङ, सल्यानको खलंगा, सुर्खेतको बोटेचौर, बड्डीचौर, डोटीको सिमचौर, बीपी नगर, कैलालीको सहजपुर, डडेल्धुराको बुडर, जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ ।

२०७६ बाट निर्माण थालिएको राष्ट्रिय राजमार्ग परियोजनाअन्तर्गतको यो राजमार्गको कुल लम्बाइ झण्डै १२ सय किलोमिटरको हुनेछ भने सडक दुई लेनमा निर्माण गरिनेछ ।

तपाईको प्रतिक्रिया