जाजरकोटमा तत्काल २ बेलिब्रिज बन्ने

सुर्खेत । जाजरकोटका २ स्थानमा तत्काल बेलिब्रिज बन्ने भएका छन् । नलगाड नगरपालिका-५ र बारेकोट गाउँपालिका-८ जोड्ने खारा खोला र छेडागाड नगरपालिका-१२ र ५ जोड्ने मनघाट, छेडाखोलामा बेलिब्रिज बन्ने भएका हुन् ।



मनघाट छेडागाड नगरपालिकाको केन्द्र पनि हो। यी दुई पुलको सामान कणर्ाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले सोमबार बुझ्नु भएको छ । अब ती सामान सम्बन्धित क्षेत्रमा पुर्‍याएर जडान गरिनेछ । ढिलोमा अबको ३ महिनाभित्र पुल जडान गरिसक्न मन्त्री सिंहले सम्बन्धित कार्यालयलाई निर्देशन दिएका छन् ।
संघीय सरकारले उपलब्ध गराएको यी दुई थान पुलको सामान सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इन्जिनियर निरज शाक्यले मन्त्री सिंहलाई हस्तान्तरण गरे । यी पुल जडान र ढुवानीको सम्पूणर् खर्च प्रदेश सरकारले बेहोर्नेछ ।

यी दुई स्थानमा पक्की पुल बनेपछि बेलिब्रिज सडक डिभिजनलाई नै फिर्ता गरिनेछ । यी दुई स्थानमा पुल नहुँदा परेको समस्याबारे मन्त्री सिंहले पटक पटक संघीय सरकारलाई ध्यानाकर्षण गराएका थिए । ‘गएको असार अघि नै मनघाट र खारामा पुल जडानका लागि पहल गरेका थियौं । पटक पटक भेटघाट र छलफल गरेका थियौं,’ मन्त्री सिंहले भने, ‘माननीय ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री शक्ति बस्नेतको विशेष पहल र माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको सहयोगले आज पुल प्राप्त भएको छ। अब सम्बन्धित क्षेत्रमा पुर्‍याएर ढिलोमा तीन महिनाभित्र जडान गरिसक्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।’

खारा खोलामा पक्की पुल निर्माणका लागि केही वर्ष पहिले नै ठेक्का लागिसकेको भएपनि विवादझका कारण बन्न सकेको छैन । उक्त पुलको विषय अहिले सर्वोच्च अदालत पुगेको छ ।

तपाईको प्रतिक्रिया