घण्टाघर र गोदामलाइन क्षेत्रका घर टहरा हटाउन अन्तिम अल्टिमेटम

सुर्खेत । सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेका जग्गामा बनेका संरचना हटाउने प्रयास यसअघि नै गरिएको थियो । तर आर्थिक मन्दीले व्यवसायीहरुलाई अप्ठेरो परेको भन्दै ब्याक भएको समितिले पुनः हटाउन अन्तिम अल्टीमेटम दिएको छ ।



गएको असारमा समितिले आफ्नो स्वामित्वमा रहेका जग्गामा बनेको अस्थायी घर टहरा हटाउन सूचना जारी गरेको थियो । व्यवसायीहरुले वर्खा लागेको र तत्कालै छाड्न नसकिने भएकाले मंसिरसम्म आफै हट्ने बचन दिएपछि समिति ब्याक भएको हो ।

समितिले दिएको समयअनुसार घण्टाघरको दक्षिण र नेकपा एमाले तथा नेकपा माआवोदी केन्द्रको कार्यालय आसपासमा रहेको सबै व्यवसायीक संरचनाहरु मंसिरबाट खाली भइसक्नुु पर्ने थियो ।

व्यवसायीहरुले खाली नगराएपछि समितिले अन्तिम पटक ३५ दिने अल्टिमेटम सूचना जारी गरेको छ । समितिको स्वामित्वमा रहेका तर संघ संस्था र अस्थायी घर टहराका लागि भोकाधिकार दिएका सबै संरचना खाली गर्न लागिएको छ ।

‘जुन प्रयोजनका लागि जग्गा लगिएको हो, सोही अनुरुप प्रयोग नभएको एकिन गरेर उदेश्य विपरितका संरचनाहरु हटाउन लागेको छौं,’ समितिका अध्यक्ष समेत रहेकी नगर प्रमुख मोहनमाया ढकालले भनिन्, ‘आवश्यकताका आधारमा १५ र ३५ दिने सूचना जारी गरिसकेका छौं, निर्धारित समयमा जग्गा खाली नभए डोजर लगाएर संरचना हटाउँछौं ।’

गएको जेठ ३२ गते समितिको बैठकले मुख्यगरी चार वटा निर्णय गरेको छ । ३५ दिने अल्टिमेटम दिएका स्थानहरुमा घण्टाघर लाइन र गोदाम क्षेत्रका संरचनाहरु छन् । वीरेन्द्रनगर–६ नम्बरमा रहेका गंगामाला पाउरोटी उद्योगदेखि पूर्व उत्तर एमाले पार्टी कार्यालय पछाडीका सबै संरचनाहरु ३५ दिनभित्र खाली गरिसक्नुपर्नेछ ।

यस्तै, घण्टाघरदेखि दक्षिणतर्फ र मध्यपश्चिम विश्वविद्यालयका पश्चिम पर्खालको आडमा बनेका सबै अस्थायी घर, टहरा, घुम्टी तथा अन्य संरचनाहरु समेत अब नगरपालिकाले हटाउन लागेको हो । सूचनाअनुसार व्यवसायीहरुले आगामी फागुन १६ गतेसम्म खाली गर्नुपर्नेछ । ब्यवसायीहरुले अटेरी गरेर भत्काउन लाग्ने खर्चको सबै भरपाई स्वंयम व्यवसायीहरुबाट असुल गर्नेगरी अन्तिम पटक पुनः सूचना जारी गरेको हो ।
यी क्षेत्रका अस्थायी घर टहराहरु हटाएर नगरपालिकाले बजारमा देखिएको पार्किङ समस्यालाई समाधान गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया