सुर्खेत । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्यमध्य एक बुलबुले तालमा डुंगा चलाउने प्रक्रिया शुरु गरिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बुलबुले उद्यान क्षेत्रको तालमा अन्ततः डुंगा चलाउन प्रक्रिया शुरु गरिएको हो ।
समितिले तालमा डुंगा चलाउन र उद्यान क्षेत्र भित्र भेषभुषासहित फोटोग्राफी सञ्चालन गर्न सूचना जारी गरेको छ । यसअघि नै ताल क्षेत्र विस्तार गर्दा पानी लिकेज (चुहावट) हुँदा चौतर्फी आलोचना बढेको थियो । आर्थिक वर्ष २०७६–०७७ मा प्रदेशको वन निर्देशनालयले दुई करोड खर्च गरेर ताल विस्तार गरेपनि पानी नभरिदा बुलबुले अवलोकन गर्न पुग्नेहरु निराश भएर फर्किने गरेका थिए ।
आन्तरिक र बाह्य पर्यटकहरुको आकर्षकको केन्द्र बुलबुले बनाउनेमा प्रदेश र वीरेन्द्रनगर नगरपालिकाले ताल क्षेत्रको पानी लिकेज (चुहावट) रोकेपछि डुंगा सञ्चलानको तयारी थालिएको छ ।

१२ हजार बर्गमिटर क्षेत्रफलमा रहेको ताल विस्तार गरेर हाल २८ हजार पाँचसय वर्गमिटर क्षेत्रफलमा विस्तार गरिएको छ ।समितिले तयार पारेको गुरूयोजनाअनुसार प्रदेश सरकार र समितिको संयुक्त लगानीमा ताल क्षेत्रको पानी चुहावट बन्द गरेपछि डुंगा चलाउन सूचना जारी गरिसकिएको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।
‘प्रदेश र समितिको संयुक्त लगानीमा ताल क्षेत्रको माटो निकालेर पानी चुहावट रोक्ने काम सफल भएपछि डुंगा चलाउन थालेका हौं,’ समितिका अध्यक्षसमेत रहेकी नगर प्रमुख ढकालले भनिन्, ‘ताललाई अझै व्यवस्थित र आकर्षक बनाएर पर्यटकहरुको रोजाइको ताल बनाउँन डुंगा चलाउन ठेक्का आह्वान गरिएको हो । अब एक महिनाभित्रै डुंगा सञ्चालन गरिनेछ ।’
ताल क्षेत्रको माटो निकाल्ने र चुहावट रोक्न समितिले करिव ३३ लाख रकम खर्च गरेको छ । हाल तालको पूरै भागमा पानी भरिएको छ ।

पाँच वर्षमा १९ लाखले घुमे बुलबुले ताल
समितिको आन्तरिक आम्दानीको प्रमुख स्रोत बुलबुले क्षेत्र हो । साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले प्रमुख पर्यटकीय गन्तव्य बन्न पुगेको छ। कर्णाली आउने हरेक पर्यटकको रोजाइँमा बुलबुले पनि पर्ने गरेको छ।

पछिल्ला पाँच वर्षमा बुलबुले उद्यान क्षेत्रमा १९ लाख बढी पर्यटकहरुले घुमेका छन् । समितिले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५÷०७६ देखि गत आर्थिक वर्षसम्म १९ लाख ५१ हजार ८१ जना पर्यटकहरुले उद्यानको अवलोकन गरेका छन् ।
अन्य बारभन्दा विदाका दिन पर्यटकको संख्या बढी पुग्ने गरेकाले पार्कलाई व्यवस्थित गराउने उदेश्यले डुंगा र स्थानीय भेषभुषासहितको फोटोग्राफी सञ्चालन गर्ने प्रक्रिया थालिएको ढकाल बताउँछिन् । पाँच वर्षमा समितिले एक करोड ५० लाख २३ हजार ६ सय ४५ रुपैंया राजस्व सङ्कलन गरेको छ ।
समितिले मनोरञ्जन गर्न भ्रमण गर्न आउने नेपाली व्यक्तिबाट (विद्यार्थी तथा नियमित घाँस काट्ने लक्षित वर्गबाट) १० रुपैयाँ, मनोरञ्जन गर्न (भ्रमण गर्न) आउने नेपाली साधारण व्यक्तिबाट २० रुपैयाँ र मनोरञ्जन गर्न (भ्रमण गर्न) आउने विदेशीहरूबाट ५० रुपैयाँ शुल्क तोकिएको छ ।
उद्यान भित्र विभिन्न कार्यक्रम लिएर आउने समूह, संस्थागत ३० जनाभन्दा बढीको संख्या आएमा पाँच सय रुपैयाँ, मोटरसाइकल प्रति पार्किङ १० रुपैयाँ, अटो रिक्सा प्रति पार्किङ २० रुपैयाँ, जीप प्रति पाकिंङ्ग ३५ रुपैयाँ, माइक्रो बस प्रति ४५ रुपैयाँ र बस, ट्रक, ट्याक्टर, ट्याङ्कर प्रति ६० रुपैयाँ शुल्क लिने गरेको छ ।
विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो। बुलबुले क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारका साथै सङ्घीय सरकार र वीरेन्द्रनगर नगरपालिकाको पनि साझेदारी रहेको छ।
बुलबुलेको मुख्य आकर्षण जमिनमुनिबाट बुलबुल भएर आउने पानीको संकलन गरी बनाइएका कलात्मक धारा र पार्क हुन्। तालको पूर्वतर्फ महिला तथा दक्षिणतर्फ पुरूषका लागि पाँच–पाँच वटा धारा छन्।

सुशील खड्का । ११ माघ २०८०, बिहीबार १७:०३