रित्तिएकाे ‘सत्यकाँडा’ मा बस्ती फर्काउन वडाध्यक्षकाे पहल

सुर्खेत । सुर्खेतका दुई ‘काँडा’ गोठिकाँडा र सत्यकाँड धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छन् । कर्णाली प्रदेशको राजधानी शहर वीरेन्द्रनगर नगरपालिकाको उत्तरमा गोठिकाँडा अवस्थित छ भने, दक्षिणमा सत्यकाँडा पर्छ ।



२०२२ सालअघि जतिबेला सुर्खेत उपत्यका औलो रोग संक्रमणको उच्च जोखिममा थियो । महामारीकै रूपमा रहेको औलोको त्रासले उपत्यकामा मानिसहरू खेतीपातीका लागि झर्थे तर बसोबास भने उत्तरतर्फको गोठिकाँडा र दक्षिणतर्फको यही सत्यकाँडा भेगमा उक्लने गर्थे ।

सुर्खेत उपत्यकाभन्दा पुरानो बस्ती गोठिकाँडा विकासको अग्रपङ्क्तिमा लम्किरहँदा यही सत्यकाँडा भने बञ्झर बनिरहेको छ । सत्यकाँडामा कालभैरवलगायतका देवीदेवताको बासस्थान रहेको पौराणिक मान्यता छ ।

प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा बढ्दै गएको शहरीकरणको प्रभाव वडा नम्बर ९ मा रहेको यो बस्तीमा अझै परेको छैन । कुनै बेला उपत्यकामा खेतीपाती गरेर फर्किने २६ घरपरिवारको दिनभरको थकान मेट्ने सुन्दर सत्यकाँडा बस्ती रित्तिएपछि अहिले जंगलमा परिणत हुँदै गएको छ ।

यो बस्ती वीरेन्द्रनगर नगरपालिका– ९ को दक्षिणी क्षेत्र हो । यस वडाको माथिल्लो क्षेत्रमा विकासले फड्को मार्दा १ घण्टाको दूरीमा रहेको सत्यकाँडा भने ओझेलमा छ ।

केही दशकअघि सुन्दर सत्यकाँडा बस्तीमा मानिसहरूको चहलपहल थियो । स्कुल थियो । बाह्रैमास अन्नबाली फल्थ्यो । सुन्तला, केरालगायतका फलफूल लटरम्म फल्थे । बाली लगाएका सुन्दर गह्रा थिए । उत्तरतर्फ वीरेन्द्रनगर उपत्यकाको मनोरम दृश्य, बाह्रैमास एकै प्रकारको हावापानी, कोलाहलमुक्त सत्यकाँडा अहिले जंगली जनावरको बासस्थानमा परिणत हुँदै गएको छ ।

त्यो विगतको सुन्दरता हराएर अहिले ती अन्नबाली फल्ने ठाउँमा काँडेझार उम्रिएका छन् । केरा र सुन्तलाका बोटहरू फल पाकेझैँ पहेँला बनेर ठिङ्ग उभिएका छन् । अन्य जंगल बाक्लिएको छ, पढ्ने विद्यार्थी नपाएर विद्यालय विस्थापित भएको छ स्कुल । ८ कक्षासम्मको पढाइ हुने विद्यालय बस्ती सरेसँगै विद्यार्थीको अभावले नजिकैको पर्सेनीमा स्थानान्तरण भएको छ । यसको प्रत्यक्ष असर नजिकै रहेको बुलबुले गाउँमा परेको छ ।

विद्यालय सरेपछि बुलबुलेमा पढ्ने उमेर भएका साना बालबालिका बाबुआमादेखि टाढा भएर पर्सेनी, नयाँगाउँ, घुस्रालगायतका ठाउँमा पढ्न बाध्य छन्, जसले कलिलो बाल मनोविज्ञानलाई समेत असर गरेको छ ।

अहिले सत्यकाँडामा तीन घरधुरीको बसोबास छ । सत्यकाँडाबाट बस्ती विस्थापित भएको धेरै समय भने भएको छैन । तत्कालीन नेकपा माओवादीले सुरु गरेको १० वर्षे सशस्त्र द्वन्द्वको साइड इफेक्टले यो बस्ती पूर्ण रूपले रित्तिएको हो ।

बस्ती रित्तिनुको अर्को कारण खानेपानी पनि हो । खानेपानीका पर्याप्त स्रोत भए पनि संरक्षण हुन नसक्दा यहाँ खानेपानीको निकै समस्या छ । द्वन्द्वका समयमा तत्कालीन माओवादी पक्षको डर थियो । यहाँका अधिकांश घरबाट कोही न कोही नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीमा जागिरे थिए ।

चरम उत्कर्षमा पुगेको द्वन्द्वका कारण यहाँका स्थानीयले माओवादीको डरले आफ्नो थातथलो नै छाडेर पूर्ण रूपमा वीरेन्द्रनगरलगायतका अन्य ठाउँमा स्थानान्तरण भएको सत्यकाँडामा हालसम्म पनि बसोबास गरिरहेका भीमबहादुर बुढाथोकीले बताए । ‘जंगलको बस्ती भयो, द्वन्द्वरत पक्षको डर निकै थियो, त्यसैले सम्पत्ति हुनेहरू यहाँबाट गए ।’ बुढाथोकीले भने, ‘हामीजस्ता गरिबहरू जान सक्ने अवस्था रहेन । यतै बसेका छौँ ।’

बस्ती फर्काउन वडाध्यक्षको प्रयास

द्वन्द्वको अन्त्यपछि केहीले सत्यकाँडा फर्किएर आफ्नो जग्गाको संरक्षण गरेका पनि छन् । विस्थापित भएको बस्ती पूर्ण रूपमा फर्काउनका लागि वीरेन्द्रनगर नगरपालिका– ९ का वडाध्यक्ष ऋषि गिरीले प्रयास गरिरहेका छन् ।

खाली भएको बस्ती फर्काउन खानेपानी, बिजुली तथा सडक स्तरोन्नतिलगायतका कामहरू गरेर सत्यकाँडालाई पर्यटकीय हब बनाउने प्रयासमा लागेका छन् वडाध्यक्ष गिरी । यति मात्रै होइन, उक्त बस्तीमा लगानीको वातावरण बढाउन आफैँले चार कट्ठा जमिन खरिद गरेको उनले बताए । ‘बस्ती फर्काउनका लागि मैले त्यहाँ आफैँले जमिन खरिद गरेको छु,’ गिरीले भने, ‘अहिले त्यहाँ सडकको ट्रयाक खोलिएको छ, खानेपानीका योजनाहरू निर्माण गरिएका छन्, बिजुलीको लाइन तान्ने काम भइरहेको छ, अन्य काम पनि जारी छन् ।’

सत्यकाँडालाई पर्यटकीय हब बनाउने उद्देश्यले प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार गरेको थियो । तर, सो प्रतिवेदन कार्यान्वयनमा भने आउन सकेको छैन ।

यस्तै, व्यावसायिक योजनासहित वीरेन्द्रनगर बजारका केही प्रतिष्ठित व्यवसायीहरूले समेत सत्यकाँडामा जग्गा खरिद गरेका छन् । वीरेन्द्रनगर बजारमा व्यवसायी मदन खड्काले व्यवसायिक योजनासहित सत्यकाँडामा रहेको बाँझो जमिन खरिद गरेको बताए ।

‘केही व्यावसायिक योजनासहित त्यहाँ केही जग्गा खरिद गरेको छु,’ उनले भने, ‘म केही समयमा नै त्यहाँ व्यावसायिक योजना बनाएर काम गर्दै छु ।’ सत्यकाँडाबाट वीरेन्द्रनगर उपत्यका अवलोकन गर्न सकिन्छ । सुर्खेतको प्रमुख ऐतिहासिक पर्यटकीयस्थल काँक्रेविहारको नजिकै रहेको सत्यकाँडालाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पर्यटन हबका रूपमा विकास गर्न सकिएको खण्डमा स्थानीयको आर्थिक उपार्जनसहित रित्तिएको बस्ती पुनः फर्काउन सकिने सरोकारवालाहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया