सुर्खेत । पछिल्लो समय लोपन्मुख जातिका रुपमा रहेको राउटे समुदायमा मृत्यु दर तीव्र बन्दै गएको पाइएको छ। बिहिबार मात्रै राउटे समुदायमा एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा हरिबहादुर शाहीकी १२ बर्षीय छोरी दुर्गा शाही रहेकी छन्। मृतक बालिका एक महिना अघिदेखि बिरामी परेकी थिइन्।
गत २३ जेठ यता यस समुदायमा विभिन्न उमेर समूहका ९ जनाको मृत्यु भएको छ। जेठ २३ गते राउटे समूदायका जेष्ठ सदस्य ९१ वर्षीय कणर्बहादुर शाहीको मृत्यु भएको थियो।

त्यसयता ६६ वर्षीय महामुखिया महिनबहादुर शाही, तुल्सी शाही, शान्ति शाही, सिमल शाही, भद्रबहादुर शाही, पाँच महिने बालिका बालकुमारी शाही, एक महिने बालक भैरव शाहीको मुत्यु भएको छ।

बालिकाको मृत्यु भएपछि दैलेखको भैरवी गाउँपालिका ४ मा बसोबास गर्दै आएका राउटेहरु शुक्रवार दैलेखकै चामुण्डाविन्द्रासैनी नगरपालिका ४ को सईयातडामा बसाई सरेका छन्।
मान्छेको मृत्युु भएपछि बसाई सर्ने परम्परा यो समुदायमा रहेको छ । दुई बर्ष यता अस्वस्थ खानपिन र जीवनशैलीका कारण राउटेको जनसंख्या घटदै गएको छ।
अब राउटे समुदायको जनसख्या एक सय ३७ रहेको छ ।

नेपाल कर्म । ५ माघ २०८०, शुक्रबार १७:५७