जैविक बिषादीको प्रयोगले बढ्यो तरकारी उत्पादन

ललितबहादुर बुढा, सुर्खेत । तरकारी खेतीमा रोगकिराको प्रकोप बढ्यो । पहिलाको तुलनामा उत्पादन पनि घट्यो । आम्दानीको मुख्य स्रोत घट्न थालेपछि वीरेन्द्रनगर–९ पर्सेनीका किसान भूपबहादुर शाही चिन्तित बने । तरकारीको उत्पादन बढाउन र रोगकिरा नष्ट गर्न भन्दै उनले तरकारी खेतीमा रासायनिक बिषादी प्रयोग गरे । तर पनि उत्पादन बढेन । बरु बारीको उत्पादन हुने शक्ति नै ह्रास भयो । रासायनिक बिषादीको अत्याधिक प्रयोगले बारीको माटो नै बिग्रियो ।
तस्बिर : वीरेन्द्रनगरस्थित पर्सेनीमा तरकारी खेतीमा जैबिक बिषादी प्रयोग गर्दै एक किसान ।

बर्षौदेखि तरकारी खेतीमा संलग्न उनले आम्दानीको स्रोत गुम्न नदिन अनेक उपाय लगाए । अगुवा किसान र कृषि प्राविधिकसँग पनि सोधखोज गरे । अनि पछिल्लो तीन बर्षयता शाहीले तरकारी खेतीमा रासायनिक बिषादी प्रयोग गर्न छोडेका छन् । ‘सुरुमा त तरकारी खेतीमा विभिन्न रोग र किराले हैरान बनाए’ भूपबहादुर भन्छन्,‘रोगकिरा नष्ट गर्न बजारमा पाइने रासायनिक बिषादी प्रयोग गरेँ, बिषादीको प्रयोगले पनि उत्पादन बढेन । बरु माटोको उब्जाउ हुने शक्ति नै नष्ट भएछ, त्यसपछि अचेल रासायनिक बिषादीको साटो जैविक बिषादीको प्रयोग गर्न थालेको छु ।’



हाल जलवायु अनुकुलन कृषि प्रविधिलाई अँगाल्दै आएका किसान भूपबहादुरले तीन कट्ठा जमिनमा तरकारी खेती गरिरहेका छन् । स्थानीय जडिबुटीबाट तयार गरिने जैविक बिषादी प्रयोग गर्न थालेपछि एकातिर रोगकिराको प्रकोप रोकिएको छ भने अर्कोतर्फ माटोको उब्जाउ क्षमता पनि बढेको छ । दश बर्षदेखि तरकारी खेतीमा संलग्न भूपबहादुरले हिजोआज मौसम अनुसारको तरकारी उत्पादन गरेर पहिलेभन्दा दोब्बर आम्दानी भइरहेको बताए । भूपबहादुर मात्र होइन, वीरेन्द्रनगरका अधिकांश किसानले पछिल्लो समय तरकारी खेतीमा जैविक बिषादीको प्रयोग गर्न थालेका छन् । स्थानीय स्तरमा उपलब्ध हुने जडिबुटीबाटै घरमा बनाउन सकिने र वातावरणीय हिसावले पनि उपयुक्त भएकाले जैविक बिषादीको प्रयोगतर्फ किसानको आकर्षण बढेको हो ।
किसानले स्थानीय स्तरमै पाइने बकाइनो, सिस्नो, तितेपाती, लसुन, खुर्सानी, टिम्बुर र मेवाको पात लगायतका जडिबुटीहरु मिलाएर जैविक बिषादी तयार गर्छन् । जडिबुटीबाट तयार भएको झोललाई नै जैविक बिषादीको रुपमा तरकारी खेतीमा लाग्ने रोगकिरा नष्ट गर्न प्रयोग गर्दै आएको किसान विन्दु शाहीको भनाइ छ । उनकाअनुसार जैविक विषादी तयार गर्न एक महिना समय लाग्छ । ‘पहिला उत्पादन बढ्ने आशमा बजारमा पाइने रासायनिक बिषादी र मल प्रयोग ग¥यौं’ विन्दुले भनिन्,‘त्यसले रोगकिरा त नष्ट भयो, तर तरकारीको उत्पादन भने बढेन । माटोको उत्पादने हुने क्षमता नै नष्ट भएछ, यो थाहा पाएपछि हिजोआज हामीले बारीमा कुनै पनि रासायनिक विषादी र मलको प्रयोग गरेका छैनौं ।’
तस्विर : वीरेन्द्रनगरस्थित पर्सेनीमा किसानले लगाएकाे तरकारी खेती ।
जैविक बिषादी र मल प्रयोग गर्न थालेपछि तरकारीको उत्पादन बढ्न थालेको उनले बताइन् । बिन्दुको परिवारले तरकारी खेतीबाटै अचेल बार्षिक दुईलाख रुपैयाँ आम्दानी गरिरहेको छ । वीरेन्द्रनगर पर्सेनीकै किसान मानबहादुर शाहीले पनि उत्पादन बढ्ने आशले सुरुवातमा तरकारी खेतीमा रासायनिक विषादीको प्रयोग गरे । तर उनको पनि विस्तारै तरकारीको उत्पादन नै घट्न थाल्यो । उनी माटोको उब्जाउ शक्ति बढाउने उपायको खोजीमा लागे । जैविक बिषादी प्रयोग गर्न थालेपछि हिजोआज बारीको उब्जाउ शक्ति मात्र होइन, तरकारीको उत्पादन बढेपछि आम्दानी पनि बृद्धि भएको उनको भनाइ छ ।
‘सुरुवातमा तरकारी खेती थाल्दा त राम्रै उत्पादन हुन्थ्यो’ मानबहादुर भन्छन्,‘विस्तारै रोगकिराको प्रकोप बढ्यो, दुख अनुसार उत्पादन नभएपछि रासायनिक बिषादीको प्रयोग ग¥यौं । तर त्यो बिषादीले त माटोको उत्पादन शक्ति नै नष्ट गरिदिएछ, त्यो थाहा पाएपछि अचेल जैविक बिषादी मात्र प्रयोग गर्न थालेका छौं ।’ जैविक बिषादी प्रयोग गर्न थालेपछि तरकारीको उत्पादन राम्रो भइइहेको उनले सुनाए । उनले हाल आठ कट्ठा क्षेत्रफलमा तरकारी खेती गरिरहेका छन् । मौसमअनुसार काउली, बन्दा, टमाटर, गाँजर, खुर्सानी, बोडी र काँक्रा लगायतका तरकारी उत्पादन हुने गरेको भन्दै उनले बिक्रीको कुनै समस्या नभएको बताए । उनका अनुसार व्यापारीहरु तरकारी खरिद गर्नका लागि उनको बारीमै पुग्ने गर्दछन् ।
पछिल्लो समय पर्सेनी गाउँ तरकारी गाउँका रुपमा पनि चिनिने गरेको छ । यहाँका किसानहरु समूह नै बनाएर संगठित भएका छन् । स्थानीय लगनशिल लद्युउद्यमी महिला कृषि समुहका अध्यक्ष कृष्णा बिसीले आफूहरुले पछिल्लो समय जलवायु अनुकुलन कृषि प्रविधि अपनाउन थालेको बताइन् । उनले भनिन्,‘जलवायु परिवर्तनका कारण तरकारी खेतीमा नयाँ प्रकारका रोगकिराको प्रकोप बढ्दो छ, रोगकिराले उत्पादनमा कमि आएपछि किसानले रासायनिक बिषादीको प्रयोग बढाए । तर त्यसले हाम्रो माटो नै बिग्रियो, त्यसलाई रोक्न हामीले जैविक बिषादी र मलको प्रयोगलाई बढाएका हौं ।’ जैविक बिषादी सस्तो हुने र तरकारी पनि बिषादीरहित हुने भएकाले दोहोरो फाइदा हुने उनको दाबी छ ।
आफूहरुले उत्पादन गर्ने तरकारी अर्गानिक हुने भएकाले पनि बजारमा माग बढेको किसानको भनाइ छ । स्थानीय किसानलाई जलवायु अनुकुलन कृषि प्रविधि अपनाउन ग्रेप परियोजनाले सहजिकरण गरेको हो । परियोजनाले किसानलाई आवश्यक तालिम, सिँचाइको लागि ड्रम, तरकारीमा लाग्ने रोगकिरालाई नियन्त्रण गर्ने पासो उपलब्ध गराएको छ । यस्तै सामुदायिक सिकाइ केन्द्रसमेत स्थापना गरिएको छ । सिकाइ केन्द्रमा अवलोकनका लागि सुर्खेतसहित बाहिर जिल्लाबाट पनि किसानहरु आउने गर्दछन् ।
परियोजनाका बरिष्ठ कृषि प्राविधिक रामदेव साहले सुर्खेतका पाँचसय २५ जना किसानसँग परियोजनाले काम गरिरहेको जानकारी दिए । साह भन्छन्,‘अहिले रासायनिक बिषादीको साटो यहाँका किसानले जैविक विषादीको प्रयोग गरिरहेका छन्, यसले अर्गानिक उत्पादन भइरहेको छ । माटोको उर्बरा शक्ति पनि बढेको छ, रासायनिक बिषादीका कारण हुने वातावरणीय क्षति पनि रोकिएको छ ।’ जलवायुमैत्री कृषि प्रणाली अपनाउन थालेपछि उत्पादनमा बृद्धि हुन थालेको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया