सुर्खेत । नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरु साझा पहिचान रहेको कर्णाली प्रदेश प्रमुख तिलक परियारले बताएका छन् । माघे संक्रान्ति पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख परियारले चाडपर्वहरुले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।

विशेषतः थारु र मगर समुदायसहित अन्य समुदायहरुले माघे संक्रान्ति (मकर संक्रान्ति) मनाउने गरेको परियारले बताए । ‘नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल हो । नेपाल यतिबेला लामो राजनीतिक परिवर्तनबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशितालाई अंगीकार गरेको छ,’ शुभकामना सन्देशमा परियाले भनेका छन्, ‘आस्था, विश्वास र पहिचानलाई कायम राख्दै आम जनताको जीवनस्तरलाई माथि उठाउन सुशासन, सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अग्रसर हुनु जरुरी छ ।’

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्न भिन्न भेग र समुदायमा भिन्न भिन्न ढंगले मनाउने प्रचलन समेत रहेको परियाले सन्देशमा उल्लेख गरेका छन् ।

माघी पर्वलाई थारु समुदायले माघी भनेर मनाउछन र नयाँ वर्ष मान्ने गर्छन । मगर समुदायले पनि यसलाई आफ्नो मूख्य चाडको रुपमा धुमधामका साथ मनाउछन ।
नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, दलित,बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने प्रचलन रहेको परियारले सन्देशमा भनेका छन् ।
माघी पर्व मनाउने सम्पूर्ण समुदायहरुलाई राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न उनको अपिल छ ।

नेपाल कर्म । १ माघ २०८०, सोमबार ०८:२८