२०८० कार्तिक १७ गते राति एक्कासी हल्लिएजस्तो भयो । मस्त निद्राकै बीचमा कम्पन भएपछि सुरूमा त के भएको हो भन्ने मेसो नै पाइनँ । आँखा मिच्दै उठेँ । लगत्तै सिरानी नजिकै रहेको मोबाइलमा टिङ– टिङ म्यासेजको आवाज आयो । मोबाइल हेरेँ, भूकम्प गएको म्यासेज थियो ।
जाजरकोटको बारेकोटस्थित रामीडाँडा केन्द्रविन्दु भएर राती ११ः४७ मा ६.४ रेक्टरको भूकम्प गएको रहेछ । घर बाहिर निस्केँ, त्यतिञ्जेल छर–छिमेकीहरू सडकमा जम्मा भइसके छन् । विपत्तका बेला घर नै असुरक्षित हुने रहेछ ! भूकम्पले हल्लाएपछि ज्यान जोगाउन सबै बाहिर निस्किएका थिए । मनमा एकतमासको डर लागिरह्यो, मध्यरातमा आएको विपत्तीले जाजरकोटमा के हालत बनायो होला ? जहाँ भूकम्पको केन्द्रविन्दु थियो ।
मध्यरातको १२ बजे फेसबुक लगायतका सामाजिक सञ्जालहरू अपुष्ट सूचनाले भरिएका थिए । छिमेकी जिल्लामा समेत भूकम्पको ठूलै धक्का महसुस भएकाले जाजरकोटमा धेरै जनधनको क्षति भएको हुनसक्ने अड्कलबाजीहरू भइरहेका थिए । राति १–२ बजेतिर केही आधिकारीक समाचारहरू पनि आउन थाले ।

जिल्लाभरको अवस्था थाहा नभएपनि कतिपय ठाउँमा घरहरु भत्किँदा च्यापिएर मानिसहरुको मृत्यु भएको र अन्यत्र सञ्चार सम्पर्क हुन नसकेको समाचारहरू थिए । भूकम्पले हल्लाएपछि उठेँको म रातभर जागाराम बसिरहे । बिहान समाचारहरु हेरियो, नभन्दै जाजरकोट र रुकुम–पश्चिममा ठूलो मानवीय क्षति भएछ, हजारौँ घरहरु भत्किएछन् ।
पशुचौपाया र अन्य भौतिक संरचनाहरुमा उस्तै क्षति भएछ । पछिल्लो तथ्यांकअनुसार भूकम्पमा परी जाजरकोट र रुकुम–पश्चिमका गरी कुल १ सय ५४ जनाको ज्यान गयो । भूकम्पमा परी ९ सय ३४ जना बढी मानिसहरू घाइते भएको विवरण छ । भूकम्पका कारण पश्चिम नेपालका धेरै जिल्लाहरूमा पनि आंशिक असर परेको छ ।
केही समययता देश आर्थिक संकटमा छ । बेरोजगारी समस्याका कारण युवाहरू विदेशीने क्रम दिनदिनै बढ्दो छ । झन्डै एक वर्षअघि स्थानीय, प्रदेश र संघको निर्वाचन भएपछि देशमा नयाँ आशाको सञ्चार हुँदैथियो । मुलुकको अर्थतन्त्र र राजनीति सही दिशामा जाने अपेक्षा गरिएका बेला अर्को विपत्ती आइलाग्यो ।
कात्र्तिक महिना चाडपर्वको समय थियो, विजयादशमीको समापन पछि घर आँगनमा तिहार भित्रने तर्खरमा थियो । देशले क्रिकेट खेलबाट विश्वमा नाम चिनाउँदै थियो, जताततै क्रिकेटको माहोल थियो । त्यो खुसी र उमंगलाई भूकम्पको एक झट्काले उडाइदियो । भूकम्पछिको क्षतिले जाजरकोट र रुकुम–पश्चिम मात्रै रोएनन्, सिंगो देश नै शोकमा प¥यो ।

घाइतेको सहारा बन्दा….
भूकम्पले ठूलो जनधनको क्षति पु¥याएपछि अब तत्कालकोे काम राहत, उद्दार र घाइतेहरूको उपचार थियो । तत्कालै जाजरकोट जाने सोच नबनाइएको होइन, तर घाइतेहरूलाई उपचारका लागि वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा ल्याइने भएपछि उता जानुभन्दा उनीहरूको उपचारमा सहयोग गर्न अस्पतालमा केन्द्रित हुनुपर्ने अवस्था आयो ।
म आफैँ स्थानीय जनप्रतिनिधि र नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको सुर्खेत अध्यक्ष भएकाले पनि अस्पतालमा ल्याइएका घाइते र उनीहरूका आफन्तको व्यवस्थापनका काममा अगुवाइ गर्नुपर्ने दायित्व ठानेँ ।
१८ गते विहान झिसमिसेमै म घरबाट निस्किए । सबैतिर बुझ्दा अधिकांश घाइते प्रदेश अस्पतालमा ल्याउन लागिएको थाहा पाएँ । अस्पतालमा रगतको अभाव हुनसक्ने आकंलन गरेर राष्ट्रिय युवा संघका साथीहरूले सल्लाह गरी रक्तदानका लागि सबैलाई आह्वान गर्ने तरखर गर्दै थियौँ । रेडक्रसलगायतका संघ–संस्थाले पनि वीरेन्द्रनगरको पिपल चौतारामा रक्तदानको व्यवास्था मिलाएको थाहा पाएपछि हामीले सोही कार्यक्रमलाई सघायौँ ।
प्रदेश अस्पतालमा जाजरकोटबाट घाइतेहरू ल्याएर धमाधम एम्बुलेन्स आउन थाले । म लगायत राष्ट्रिय युवा संघका साथीहरु स्वयंमसेवामा जुट्यौँ । मानवताको भावका साथ हामीले स्टेचर समाउँदै घाइतेलाई बेडमा राख्ने र उपचारका क्रममा आवश्यक अन्य समन्वयको काम गयौँ ।

अस्पतालमा घाइतेहरू आउने क्रम जारी थियो, उनीहरूलाई उपचारका लागि इमरजेन्सीमा बेडको प्रबन्ध मिलाउने तथा एक्सरे रुम र वार्डसम्म लग्नका लागि हामी सहारा बन्यौँ । त्यसका साथ–साथै खासगरी हामीले घाइतेहरूको मनोबल उच्च बनाउने काममा ढाडस दियौँ । उपचारसँगै उनीहरूको खाना र लत्ता कपडाका लागि समन्वय गर्नु हाम्रो अर्को महत्वपूर्ण काम थियो ।
त्यही बीचमा वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल, उपमेयर निलकण्ड खनालसहितको टीम अस्पतालमा पुगेर हामीले गरिरहेको काम सराहनीय रहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँहरूले सबै निकायसँग आवश्यक समन्वय गरेर घाइतेहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । मेयर ढकालले सर्वदलीयसँगै जिल्ला विपद् समितिको बैठकमा वीरेन्द्रनगर नगरपालिकाले बिरामी र कुरुवालाई खानाको व्यवस्था गर्ने निर्णय भएको कुरा जानकारी दिनुभयो ।

१९ गते सुर्खेत उद्योग वाणिज्य संघलगायत अन्य संघ–संस्थाहरूले पनि घाइते बिरामीलाई लत्ता कपडा उपलब्ध गराउने जानकारी दिए । हामी २४ सैँ घण्टा घाइतेको उपचार र अन्य व्यवस्थापनमा खटिरहयौँ । घाइतेकहरुका समस्या सुन्नु र त्यसको समाधानका लागि पहल गर्नु हाम्रो दिनचर्या बन्यो । कयैँन दिन भोको पेट र कति रात अनिदो बसेर हामी घाइतेहरूको सेवामा निरन्तर लाग्यौँ । सेवा गर्नु हाम्रो टिमको दिनचर्या नै बन्यो । घाइतेहरुको चोटमा मलम लगाउने काममा खटिदा उनीहरूको मात्र चिन्ता र चासो हुन थाल्यो ।
दैनिकजसो सुरूमा कुरुवालाई भेटेर घाइतेहरूको अवस्था सुधारात्मक भए नभएको बुझेर त्यस पश्चात् घाइते तथा कुरुवालाई नास्ताको व्यवस्थापन गरिन्थ्यो । चिकित्सकहरूको सल्लाहअनुसार घाइतेहरूलाई प्रोटिनयुक्त खानेकुरा आवश्यक भएकाले हामीले चना, अण्डालगायतको व्यवस्थापनमा बढी जोड दिएका थियौँ । स्वयंमसेवामा खटिदा हामी घाइते र कुरुवासँग आत्मिय रूपमा निकै निकट भएका थियौँ । प्रदेश अस्पतालमा जति पनि भूकम्पका घाइतेहरु ल्याइन्थ्यो ती सबैलाई हामीले सक्दो सहयोग गयौँ । घाइतेहरू निको भएर घर फर्कदा मन खुसी हुन्थ्यो ।
उपचारपछि निको भएका र उनीहरूका कुरुवाका लागि सुर्खेतस्थित संयुक्त यातायातबाट निःशुल्क आवत–जावत गने व्यवस्था मिलाइएको थियो । संयुक्त यातायातका प्रतिनिधि पवन श्रेष्ठले बिरामीको बेडमा गएर नै टिकट उपलब्ध गराउने गर्नुभएको थियो ।

यसबीचमा घाइतेहरूको अवस्था बुझ्न र उपचारका लागि पहलकदमी गर्न नेकपा ‐एमाले)का नेता यामलाल कँडेल २२ गते विहान ६ः३० बजे प्रदेश अस्पताल पुग्नुभएको थियो । अहोरात्र खटिएर हामीले स्वयंमसेवा गरिरहदा जाजरकोट, रुकुमपश्चिम र दैलेखको गुराँस गाउँपालिकाबाट गरि उपचारमा आएका ५२ जना मध्ये रुकुमपश्चिमको चौरजहारी नगरपालिकाका एक जना घाइतेलाई बचाउन सकिएन ।
हामीले बिरामी र कुरुवाको सबै समस्या समाधान गरेर मात्र अस्पतालबाट बाहिर जाने परिकल्पना गरेका थियौँ । हामीले बिरामीलाई बिहान ८ बजे नास्ता, ११ बजेसम्म खाना र २ बजे नास्ता अनि ६ बजे खाना सँगै अन्य खाने कुराहरू बेडमा नै लगेर उपलब्ध गराउने गरेका थियौँ । अधिकांश घाइतेहरू उपचारपछि निको भएर घर फर्किदा हामीले गरेको सेवा सबैका लागि प्रशंसायोग्य भएको थियो ।
लेखक आचार्य राष्ट्रिय युवा संघ नेपालको सुर्खेतका अध्यक्ष हुन्।

वासु आचार्य । २५ पुष २०८०, बुधबार १३:१७