जहाजको पर्खाइमा १३ दिने सुत्केरीको मृत्यु

सुर्खेत । हुम्लाको ताजाँकोट गाउँपालिका–५, कि २३ वर्षीया अंशु बुढाको हवाइ जहाज कुर्दाकुर्दै बाजुराको कोल्टी विमानस्थलमा ज्यान गएको छ । दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको निःशुल्क हवाई उद्वार कार्यक्रम लागु भएको भएपनि समयमै उद्दार नहुँदा उनको विमानस्थलमै मृत्यु भएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत आ.व. ०७५/७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई निःशुल्क हवाई उद्दार गरी तोकिएको अस्पतालमा पु¥याई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको छ ।



तर, समयमै सरकारी निकाय बिच समन्वय नहुँदा सुत्केरी भएको १३ दिनपछि रक्तअल्पताले थलिएकी बुढाको समयमै उपचार हुन नसकेपछि ज्यान गएको हो । सोमबार उनलाई थप उपचारका लागि आइतबार कोल्टी विमानस्थल पु¥याइएको थियो । तर समयमै जहाज नपुगेपछि उनको मृत्यु भएको हुम्लाका प्रदेशसभा सांसद रणसिंह परियारले जानकारी दिए ।

‘रक्तअल्पताले थलिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि आइतबार थप उपचारका लागि नेपालगन्ज लैजान कोल्टि पु¥याइएको रहेछ सोमबार कोल्टीमा कुनै पनि हवाई उडान भएन,’ सांसद परियारले भने, ‘अबेर भएका कारणले सेनाको हेलिकप्टर जान सकेन् । उहाँको मृत्यु भएको खबर हिजो बेलुका अबेर पाएँ ।’

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरू निःशुल्क हवाई उद्वार कार्यक्रम भएको त्यसबाट उनको उद्वार गर्न सकिने अवस्थामा खबर ढिलो हुँदा बुढाको ज्यान गएको सांसद परियारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया