राष्ट्रिय सभा निर्वाचन : एकीकृत समाजवादीबाट रिजाल र सावित्री मल्ल उम्मेदवार

सुर्खेत । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ।



बागमती प्रदेशमा दलित क्लस्टर र कर्णाली प्रदेशमा महिला क्लस्टरमा उम्मेदवारी टुंगो लगाइएको हो।

जसमा बागमतीमा दोलखाका घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ भने कर्णाली प्रदेशमा सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिए।

सत्ता गठबन्धनमा भएको भागबन्डामा एकीकृत समाजवादीले २ सिट मात्र पाएको हो।

जम्मा १९ सिटमध्ये नेपाली कांग्रेसलाई १०, नेकपा माओवादी केन्द्रलाई ६, एकीकृत समाजावादीलाई २ र जसपालाई एउटा सिट छुट्याइएको छ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको ६ वर्षे कार्यकाल पूरा हुँदै छ। तीमध्ये १९ जना चुन्न आगामी माघ ११ गते निर्वाचन गर्न लागिएको हो। एक जना भने राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ।

यी हुन् फागुन २० गते बिदा हुने २० सदस्य
आगामी फागुन २० गते राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सदस्यको ६ वर्षे कार्यकाल पूरा हुँदै छ। जसमा एमालेका ९, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाका १ र एक जना स्वतन्त्र निर्वाचित सदस्य छन्।

जसअनुसार एमालेका गणेशप्रसाद तिमिल्सिना (अध्यक्ष) दीपा गुरुङ (गण्डकी), इन्दु कडरिया (सुदूरपश्चिम), खिमलाल भट्टराई (लुम्बिनी), दिलकुमारी रावल थापा (बागमती), रामचन्द्र राई (बागमती), नरपती लुवार (कर्णाली), भैरव सुन्दर श्रेष्ठ (कर्णाली) र राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल हुन्।

यस्तै फागुन २० गते नेपाली कांग्रेसका अनिता देवकोटा (लुम्बिनी), जितेन्द्रनारायण देव (मधेश), प्रकाश पन्थ (गण्डकी) र रमेशजंग रायमाझी (कोशी) पनि राष्ट्रिय सभा सदस्य पदबाट बिदा हुँदै छन्।

यसैगरी नेकपा माओवादी केन्द्रका महेश कुमार महरा (सुदूरपश्चिम), हरिराम चौधरी (सुदूरपश्चिम) र विना पोखरेल (कोशी) को कार्यकाल सकिँदै छ।

यस्तै एकीकृत समाजवादीबाट नन्दा चपाईं (कर्णाली) र सिंगबहादुर विश्वकर्मा (बागमती) को कार्यकाल पनि फागुन २० मा सकिँदै छ।

यसैगरी जनता समाजवादी पार्टी (जसपा) की प्रमिला कुमारी (मधेश प्रदेश) र बागमती प्रदेशबाट स्वतन्त्र रूपमा निर्वाचित खिमलाल देवकोटाको कार्यकाल पनि सकिँदै छ।

राष्ट्रिय सभाका कूल ५९ सदस्यमध्ये गोला प्रथाबाट एकतिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एकतिहाइको ४ वर्ष र बाँकी एकतिहाइ सदस्यको २ वर्ष कार्यकाल निर्धारण गरिएको थियो। फागुन २० गते ६ वर्षेवाला २० सदस्यको कार्यकाल पूरा हुने भएको हो।

तपाईको प्रतिक्रिया