सुर्खेतका दुई सब्जीमण्डीको कालोबजारी : आलु भन्दै भन्सार छलेर ल्याउँछन् प्याज !

देवकोटा सब्जीमण्डीलाई साढे दुईलाख र पुजालाई पाँच लाखबढी जरिवाना

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा रहेका दुई वटा सब्जीमण्डलीले सरकारको आँखा छलेर कालोबजारी गरेको पाइएको छ। वीरेन्द्रनगरमा सब्जीमण्डी सञ्चालन गर्दै आएका साहुँले कर छलि गरेर ल्याएको तरकारी बेचिरहेका हुन्।



यसरी अवैध रुपमा भारतबाट तरकारी ल्याएर सरकारलाई उल्लु बनाउँदै कर्णालीका उपभोक्तलाई महंगोमा बेच्ने ती सब्जीमण्डीलाई कारबाही गरिएको छ।

भारतबाट आलु भन्दै प्याज ल्याउने सुर्खेतको पूजा सब्जीमण्डी र देवकोटा सब्जीमण्डीले कारबाहीमा परेका छन्।

भारतबाट नेपालमा ल्याएर प्याज बेच्न खोज्ने देवकोटा सब्जीमण्डीलाई नेपालगन्ज भन्सार कार्यालय बाँकेले साढे दुई लाख जरिवाना तिराएको कार्यालयका सुचना अधिकार पुर्णप्रसाद लम्साले जानकारी दिए।

उनले भने, ‘केही दिन अघि सुर्खेतको देवकोटा सब्जीमण्डीले एक सय ५० बोरा आलुको राजश्व तिरेर ल्याएको बताएको थियो। तर, चेक गर्दा एक सय बोरा आलु र ५० बोरा प्याज ल्याएको फेला प¥यो। एक सय ५० बोरा आलु मात्रै भनेर राजश्व तिरेको देखिए पनि त्यहाँभित्र ५० बोरा प्याज थिए। त्यो ५० बोरा प्याजको तौल भने दुई हजार दुई सय ५० किलो रहेको छ। ६ बोरा कागति एक सय ९८ किलो रहेको छ।’

सुचना अधिकार पुर्णप्रसाद अनुसार भन्सारमा अनुसन्धान गर्दा ट्रकमा प्याज र कागतिसहित आवश्यक तौल भन्दा ८५ किलो बढी तौल उक्त ट्रकले ल्याएर आएको थियो।

यस्तै, नेपालगन्ज भन्सार कार्यालय बाँकेले देवकोटा सब्जीमण्डीलाई १ सय बोरा आलु, ५० बोरा प्याज र ६ बोरा कागतिको गरि कुल २ लाख ४५ हजार रुपियाँ जरिवाना तिराइएको छ।

यस्तै, सुर्खेतकै चर्चित अर्को सब्जीमण्डी पुजा सब्जीमण्डीले पनि आलु भन्दै प्याज ल्याएपछि राजस्व अनुसन्धान कार्यालय कोहलपुरले पुस ८ गते कारबाही गरेको छ। राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख अनुसन्धान अधिकृत सुरेशराज जोशीले भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर आएको ट्रकमा प्याज भेटिएपछि कारबाही गरिएको जानकारी दिए।

उनका अनुसार प्रज्ञापन पत्रमा उल्लेख नभएको ७१ बोरामा २ हजार ८४० केजी प्याज फेला परेको हुँदा पाँच लाख ३७ हजार तीन सय ४१ रुपियाँ जरिवाना तिराइएको छ।

यस्तै, भारतबाट आलु भन्दै प्याज बोकेर सुर्खेतका लागि छुटेको यूपी ४० टी ७४७४ नम्बरको तरकारी गाडीलाई सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेको टोलीले नेपालगन्जको चौलिका चेकपोस्टबाट नियन्त्रणमा लिएर राजस्व अनुसन्धानमा बुझाएको थियो।

उक्त गाडीमा प्रज्ञापन पत्रमा उल्लेख नभएको ७१ बोरा प्याज फेला परेको र पुजा सब्जीमण्डीलाई जरिवाना तिराएपछि मात्रै गाडी र प्याज दुवै छोडिएको राजस्व अनुसन्धान कार्यालय कोहलपुरले जनाएको छ ।
यसअघि पनि मूल्याङ्कन र परिमाण घटाएर सामान भित्राउने केही कन्टेनर र ट्रकमा रहेको सामानको अनुसन्धान गरेर आवश्यक जरिवाना लिएर छाडिएको भन्सार कार्यालयले जनाएको छ।
यता भन्सार छलिको विषयमा सञ्चालक तथा उवासंका सदस्य लक्ष्मण देवकोटालाई बुझ्न खोज्दा उनले कुनै जवाफ दिएनन्।

तपाईको प्रतिक्रिया