सुर्खेत । कोरियन भाषा परीक्षाका लागि आवेदन दिन काठमाण्डौं पुगेका दैलेखका २३ वर्षीय सुजन रावतको शव बाकसमा फर्किएपछि यति बेला दैलेख सोकमा डुबेको छ।
युवाहरूले ईपीएस शाखा कार्यालय बालकुमारी नजिकै शुक्रबार गरेको आन्दोलनमा प्रहरीको निर्घात कुटपिटबाट ज्यान गुमाएका सुजनको शव नेपाली सेनाको हेलिकप्टरमार्फत दैलेख लगिएको हो।
सेनाको हेलिकप्टर जब दैलेखी आकाशमा देखियो तब सुजनको शवको प्रखाईमा बसेका आफन्तहरु भक्कानिएर रोए।


बिरामी रहेकी सुजनकी आमाले छोराको शव बाकसमा देख्ने बित्तिकै आफूलाई सम्हाल्न सकिनन्। श्रीमान् गुमाएको वर्ष दिनमै छोरा गुमाउदा भावविहिल बनेकी नन्दा कटुवाल ९रावत० लाई आफन्तहरुले सान्त्वना दिने प्रयास गरिरहेका देखिन्थे। तर, उनी भक्कानिदै सुजनलाई आँखा खोल्न आग्रह गर्दै थिइन।
आफ्नो मुटुको टुक्रालाई आफूबाट अलग गराइएपछिको कुर पीडामा रहेकी नन्दाले आफ्नो जीउने आधार नै सकिएको भन्दै छाति पिटेर रुदाको क्षण व्यक्त गर्न लाएक थिएन। उनले बारम्बार सुजनलाई बोल्न आग्रह गरिरहेकी थिइन।

बुवा बितेपछि आमा, बहिनी र भाईको पालन पोषण गर्ने जिम्मेवारी बोकेका सुजनको मृत्युले आफन्तहरुमा सन्नाटा छाएको छ। श्रद्धाञ्जली दिन उपस्थित भएकाहरु पनि पीडामा देखिन्थे।
महाबु गाउँपालिका स्थायी घर भएका राउतको परिवार दैलेख बजारमा बस्दै आएको छ। उनको आजै अन्त्यष्टि गरिने जनाइएको छ।
प्रहरीके दमनपछि छातीमा गम्भीर चोट लागेका उनी सडकमै बेहोस भएर लडेका थिए। राउतको शरीरमा निलडाम थिए। साथीहरूले एम्बुलेन्स बोलाएर राउतलाई किस्ट मेडिकल कलेज पुर्याए। चिकित्सकले तत्कालै मृत घोषणा गरिदिए।
आन्दोलनकारी युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी जलाएपछि प्रहरी उत्तेजित भएको थियो। प्रहरीले अन्धाधुन्ध लाठी चार्ज र गोली प्रहार गरेको थियो। त्यसक्रममा अछामका वीरेन्द्र शाहको पनि प्रहरीको गोली लागेर मृत्यु भएको छ।
संयोग कस्तो भने दुई युवाको मृत्यु भएको केही घण्टामै उच्च अदालत पाटनले उनीहरूकै पक्षमा आदेश जारी गर्दै पानीजहाजको परीक्षामा सहभागी भएकाले अहिले उत्पादन क्षेत्रका लागि आवेदन दिनबाट वञ्चित भएका सबैलाई परीक्षामा सहभागी गराउन भनेको छ। यो आदेश केही घण्टा छिटो आएको भए बालकुमारीमा न आन्दोलन हुन्थ्यो, न त दुई जना युवाले ज्यान गुमाउनुपर्थ्यो।

नेपाल कर्म । १७ पुष २०८०, मंगलवार १५:४४