नौ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय रेग्मीलाई जन्मकैद, सात लाख जरिवाना

सुर्खेत । सोमबार (पुस–१६) गते दैलेख जिल्ला अदालतले बालिका बलात्कार गर्ने एक वृद्धलाई जन्मकैदको सजाय सुनाएको छ। नौ वर्षीया बालिकालाई बलात्कार गर्ने ८६ वर्षीय प्रजापति रेग्मीलाई २५ वर्ष कैद सजाय सुनाएको हो।



न्यायाधीश बलराम लम्सालको इजलासले नारायण नगरपालिका–८ ढकाने दैलेखका ८६ वर्षीय रेग्मीलाई उक्त सुनाइएको हो।

दैलेख जिल्ला अदालत सूचना अधिकारी हरिप्रसाद उपाध्यायले बालिका बलात्कार गर्ने रेग्मीलाई २५ वर्ष कैद, सात लाख रुपैयाँ जरिबाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला अदालतले गरेको नेपालकर्मलाई जानकारी दिए।

मुलुकी अपराध सहिंता २०७४ को दफा २१९ को उपदफा ३ मा पीडितको उमेरअनुसारको कैद सजाय व्याख्या गरिएको छ। जसमा १० वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे जन्मकैद हुने उल्लेख गरिएको छ। सोही कानूनअनुसार रेग्मीलाई जन्मकैदको सजाय सुनाइएको छ।

सूचना अधिकारी उपाध्यायका अनुसार बालिकालाई रेग्मीले बलात्कार गरेको आरोपामा २०७९ चैतमा प्रहरीले पक्राउ परेको थियो।

रेग्मीलाई प्रहरीले पक्राउ गरिसकेपछि बालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो। २०७९ चैत २३ गते आएको बालिकाको बलात्कार भएको पुष्टिको स्वास्थ्य परीक्षण रिपोर्ट आएको थियो।

त्यसपछि प्रहरीले रेग्मीलाई प्रहरीको अनुसन्धान गरेर उक्त प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले २०८० वैशाख १४ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी अभियोग दर्ता गरिएको थियो।

यसअघि रेग्मीलाई अभियोग सम्बन्धमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट पुर्पक्षका लागि दैलेख कारागार थुनामा पठाइएको थियो।

तपाईको प्रतिक्रिया