भारत । भारतका एक सरकारी अधिकारीले पानीमा फोन खसेपछि सिंगो जलाशय नै खाली गर्न लगाएका छन्।
छत्तीसगढ प्रदेशको काङ्केर जिल्लामा पर्ने पखन्जुरका खाद्य निरीक्षक राजेश विश्वासको सामसुङ ग्यालेक्सी एस २३ फोन सेल्फी लिने क्रममा पानीमा खसेको थियो। उक्त खसेको फोन निकाल्न बाधको सबै पानी, अर्थात् ४१ लाख लिटर पानी खाली गर्न उनले लगाएका थिए।
उनले जलाशयको १ दशमलव ५ घनमिटर पानी खाली गरेको प्रतिवेदनमा बताइएको छ। करिब ४ दिन लगाएर उनले परालकोट जलाशयको पश्चिम नालाबाट पानी खाली गर्न लगाएका थिए।

उक्तत घटनापछि जिल्लाका डेपुटी कमिसनर प्रियंका शुक्लाले राजेशलाई निलम्बन गर्न आदेश जारी गरेकी छन्। उनीमाथि आफ्नो पदको दुरुपयोग गरी लाखौँ लिटर पानी खेर फालेको आरोप छ।


खाद्य निरीक्षक : राजेश विश्वास
तर, राजेशले भने पदको दुरुपयोग गरेको आरोप अस्वीकार गरेका छन्। आफ्नो फोन पानीमा खसेपछि पानी केवल १० फुट मात्रै गहिरो रहेको स्थानीयले बताएपछि आफूले उक्त क्रियाकलाप गरेको स्पष्टीकरण उनले दिएका छन्।
‘स्थानीयले पानी १० फुट मात्रै गहिरो छ, फोन भेटिन सक्छ भने,’ उनले भनेका छन्, ‘उक्त पानी किसानले प्रयोग नगर्न जानकारी पाएपछि मैले सिंचाइँ विभागसँग अनुमति लिएर पानी खाली गर्न लगाएको थिएँ।’ उनले आफ्नै खर्चमा स्थानीयको मद्दतमा पानी खाली गरेको पनि बताएका छन्।
बाँधको पानी खाली गरेपछि गएको बिहीबार उनको फोन भने भेटिएको छ। तर जागिर गएको छ।

नेपाल कर्म । १६ जेष्ठ २०८०, मंगलवार १४:००