बन्दको समयमा सञ्चालन भएका ७० बढी सवारी साधन प्रहरी नियन्त्रणमा

सुर्खेत । सुर्खेतमा आन्दोलनको अवेज्ञा गर्दै सवारी चलाउँदा ७० बढी सवारी साधन नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको छ।



काठमाडौंको बालकुमारीमा भएको घटनाको विरोध गर्दै सुर्खेतमा जारी ‘युवा विद्रोह’ जनसंघर्ष समितिले सोमबार चलेका सरकारी सवारीलाई नियन्त्रणमा लिदै प्रहरीको जिम्मा लगाएको हो।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका एरीचोक, इत्राम, मंगलगढीचोक लगायत स्थानमा पीडित पक्षले आन्दोलन जारी राखेका छन्।

विद्रोह समूहले सरकारी सवारी साधनहरु ७० वटा मोटरसाइकल र सात वटा चारपांग्रे गाडीलाई नियन्त्रणमा लिएर कर्णादी प्रदेश ट्राफिक र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको जिम्मा लगाएको छ।

नियन्त्रणमा लिइएका सवारी साधनहरु प्रदेश र जिल्ला टा्रफिक कार्यालयमा राखिएका छन्।

यस्तै, आन्दोलन संघर्ष समितिले शुक्रबार सडक आन्दोलन र शनिबार वीरेन्द्रनगर बजारको यरीचोकबाट र्‍यालीसहित मंगलगढी पुगेर एक घण्टा सम्पूर्ण सवारी साधानहरु चल्न नदिएर सडक चक्काजाम गरेको थियो।

संघीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग्दै सुर्खेतमा ‘युवा विद्रोह’ले चार
दिनदेखि लगातार प्रदर्शन गरिरहेका छन्।

ललितपुरको बालकुमारीमा दुई युवाको प्रहरी दमनबाट मृत्यु भएपछि सुर्खेतमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रर्दशन जारी छ। सडकमा उत्रिएर यहाँका स्थानीहरुले घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, गृहमन्त्री र भौतिक मन्त्रीले राजीनामा दिनुपर्ने जस्ता मागहरु राख्दै आएका छन्।

सरकारको कार्यशैलीले देशमै सुरक्षाको वातावरणको ग्यारेन्टी गर्न नसकेको भन्दै युवाहरूले सरकारको चर्को विरोध गरेका छन्। उनीहरुले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी हुनुपर्ने लगायतका माग पनि राखेका छन्।

तपाईको प्रतिक्रिया