तमु ल्होसारमा संस्कृति जीवन्त राख्नुपर्ने चिन्तन

सुर्खेत । पुस १५ अर्थात् तमु ल्होसार गुरुङ्ग समूदायको नयाँ वर्ष हो । ल्हो’ले वर्ग अथवा वर्ष र ‘सार-छार’ले नयाँ भन्ने बुझाउँछ । गुरुङहरूले विगत २६०३ वर्ष अघिदेखि ल्होसार मनाउँदै आइरहेको दाबी गर्छन्, तर कहिलेदेखि यो पर्व मनाउन थालियो भन्ने यकिन इतिहास भने छैन । हरेक वर्षको पुस १५ मा गुरुङको वर्ग-वर्ष फेरिन्छ । पुस १५ लाई उनीहरूले नयाँ वर्ष र जातीय पर्वका रूपमा मनाउँछन् ।



कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि गुरुङ समुदायहरुले सांस्कृति पहिचानसहित तमु ल्होसार मनाएका छन् । मंगलगढी चोकबाट शुरु गरिएको बाजासहित गुरुङ भेषभुसासहितको ¥याली सीटी हलमा पुगेर कार्यक्रमको आयोजना गरिएको हो । तमु ल्होसारको ‘ल्हो’ अर्थात् १२ वर्ग रहेका ति विभिन्न पशुपक्षीका नाममा राखिएको हुन्छ ।

हरेक १२ वर्षपछि फेरि सुरुकै वर्ग आउँछ । यो चिनियाँ पात्रोमा आधारित हुन्छ । गुरुङको हरेक शुभ-अशुभ कार्य गर्दा वर्ग हेरेर गर्ने प्रचलन छ । पुस १५ मा सबैभन्दा लामो रात र छोटो दिन हुन्छ भन्ने विश्वास गरिन्छ । त्यसपछि दिन लामो र रात छोटो हँुदै जान्छ । दिन लम्बिने पहिलो दिनलाई नै गुरुङले नयाँ वर्ष सुरु हुने दिनका रूपमा मनाउन थालेका गुरुङ महिला राष्ट्रिय परिषद् कर्णालीका सहसचिव लिला तमुस्योले जानकारी दिइन् ।

‘तमु ल्होसार ठूलो र महत्वपूर्ण पर्व रहेकाले, यहीँ पुस १५ देखि २०८१ साल १४ पुससम्म गरुड वर्ग र २०८१ पुस १५ देखि २०८२ पौस १५ गतेसम्म जन्मिएका सर्प वर्गको हुनेछन् ,’ उनले भनिन् ।

विश्व मानचित्रमै तमु समूदायले आफ्नो उच्च मनोबल, साहस, अट्टाहस, बहादूरी अनि बफादारिताले एउटा कर्मठ सैनिक र गोर्खालीका रुपमा नेपालीको शिर सदैव उच्च राखेका उदाहरण छन् ।

विश्व यूद्ध, आतङ्कवाद विरुद्धको कुनै लडाई, अमेरिकी सैनिक वा बेलायती र भारतीय विभिन्न देशका, तमु समुदायका युवाहरुले विश्वले विभिन्न कालखण्डमा गौरवशाली वृतान्त दिंदै आएको छ ।

तमु समूदायको विशेषतः गुरुङहरुको यूवायूवतीहरु मध्ये रोधीघर चलन एदमै चर्चित छ । उमेर पुगेका छोराछोरीहरु अभिभावकको निगरानीमा रोधीघरमा गएर नाचगान अनि दोहोरी खेल्ने रसिक चलन रहेको छ । तमु समूदायको शालिन र सभ्य संस्कारको गहिरो तहलाई बुझ्न तथा संस्कृति एवम् संस्कारलाई जोगाउन आवश्यक रहेको गुरुङ समुदायका अगुवा लालबहादुर गुरुङले जानकारी दिए ।

तमु ल्होसार पर्व गुरुङको संस्कृति, सभ्यता र समग्र पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएकाले पछिल्लो समय यसलाई मनाउने तौर–तरिका केही खर्चिलो र भड्किलो भएकोमा उनको दुःखेसो छ । तर गुरुङहरुको विरतासँगै शास्त्र, संस्कृति, संस्कार र परम्परा जोगाउन समुदायमा चिन्तन भइरहेको उनको भनाई छ ।

तामाङ, शेर्पा र अन्य हिमाली समुदायले पनि ल्होसार भव्य रूपमा मनाउँछन् । तर, उनीहरूले मनाउने ल्होसारको समय भने फरक छ । गुरुङले पुसमा, तामाङले माघमा र शेर्पाले फागुनमा मनाउँदै आएका छन् । आजबाट शुरु हुने नयाँ वर्षको हरेक पलहरु शुद्ध र धार्मीक हुने जनविश्वास छ । विभिन्न मन्त्रहरु लेखिएका अनि विभिन्न रगंका तोरण, झन्डाहरु घर, डाँडा या वौद्ध विहारमा झुण्ड्याउने गरिएको छ ।

तपाईको प्रतिक्रिया