बालकुमारी घटना : आइतबार सुर्खेतमा सरकारी सवारी साधन पूर्णरुपमा बन्द गराउने घोषणा

सुर्खेत । बालकुमारीमा भएको घटनालाई लिएर आन्दोलन संघर्ष समिति सुर्खेतले आइतबार जिल्लामा सम्पूर्ण सरकारी सवारी साधन पूर्णरुपमा बन्द गराउने घोषणा गरेको छ। शनिबार एक अपिल पत्र जारी गर्दै आन्दोलन संघर्ष समितिले उक्त घोषणा गरेको हो।



शुक्रबार ललितपुरको बालकुमारीमा (ईपीएस) कोरिया भाषा परीक्षाको विषयमा भएको आन्दोलनमा प्रहरीको लाठिचार्ज तथा गोली प्रहारबाट दैलेखका सुजन रावत र अछामका वीरेन्द्रबहादुर शाहको मृत्यु भएको छ।

उक्त विषयलाई लिएर मृतक सुजन र वीरेन्द्रका आफन्तहरूले चरणबन्द आन्दोलनका कार्यक्रम अन्तरगत आइतबार सुर्खेतका सम्पूर्ण सरकारी सवारी साधन पूर्णरुपमा बन्द गर्ने र दिउँसो १२ बजेदेखि १ बजेसम्म एक घण्टाका लागि सम्पूर्ण सवारी साधन बन्द गर्ने घोषणा गरेका छन्।

साथै आफन्तहरूले आन्दोलन भइराखेको ठाउँमा जवरजस्ती झण्डा हल्लाउँदै भीडमा प्रवेश गर्ने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र गोली हान्न आदेश दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्।

यस्तै, घटनामा संलग्न अन्यलाई कानून अनुसार कारबाही हुनुपर्ने, दोषिदलाई कारबाही र मृतक युवाहरूलाई सहिद घोषणा, पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनाके ग्यारेन्टी लगायतका माग आफन्तहरूको रहेको छ।

तपाईको प्रतिक्रिया