काठमाडाैं । ईपीएसको आन्दोलनका क्रममा प्रहरीको कुटाइबाट मारिएका दैलेखका सुजन रावतका आफन्तले उनको शव बुझ्न मानेका छैनन् । २३ वर्षीय रावतको शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको कुटाइबाट मृत्यु भएको थियो । रावतको शरीरमा चोटको निलडाम छ ।

रावतका आफन्तहरूले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही भए मात्र शव बुझ्ने बताएका छन् । गृह मन्त्रालयले शुक्रबार नै छानबिन समिति गठन गरेको छ भने आज सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । तर रावतका आफन्तले भने गृह मन्त्रालयले बनाएको छानबिन समितिमाथि विश्वास नभएको भन्दै स्वतन्त्र छानबिन समिति बनाउनुपर्ने, शहीद घोषणा गर्नुपर्नेलगायतका माग राखेका छन् ।

मृतक रावतका मामा टेकबहादुर कटुवालले माग पूरा नभएसम्म शव नबुझ्ने बताए । आफन्तहरूले गृहमन्त्रीलाई भेटेर आफ्ना माग राख्ने तयारी गरेका छन् । तर दिउँसोसम्म गृहमन्त्रीसँग आफन्तहरूको भेट भइसकेको छैन । रावतको शव ललितपुरस्थित किस्ट अस्पतालमा छ ।

उता शुक्रबारै प्रहरीको गोली गालेर मारिएका अछामका वीरेन्द्र शाहका आफन्तले पनि शव बुझेका छैनन् । उनीहरूले पनि निष्पक्ष र स्वतन्त्र छानबिनको माग गरेका छन् ।
रावतका मामा कटुवालले आफ्नो भान्ज शुक्रबार आन्दोलनमा सहभागी नभएको तर प्रहरीले कुटपिट गरेर हत्या गरेको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए । उनका अनुसार रावत कोरिया रोजगारीका लागि भाषा सिक्न काठमाडौं आएका थिए । उनी गत साउनमको विज्ञापनअनुसार भाषा परीक्षामा सहभागी भई अहिले परीक्षा आवेदन दिनबाट वञ्चित भएका युवा होइनन् । उनी गत मंसिर १९ गते भएको विज्ञापनअनुसार आवेदन दिएर भाषा सिकिरहेका थिए ।
दुई जनाको मृत्यु भएको केही घष्टामै उच्च अदालत पाटनले एक अन्तरिम आदेश दिँदै सबैले परीक्षामा सहभागी हुन पाउने आदेश दिएको छ । यसपछि वैदेशिक रोजगार विभाग ईपीएस शाखाले शुक्रबार साँझै एक सूचना जारी गर्दै गत साउनमा आवेदन दिएकाहरूका लागि योपटक पनि आवेदन खुला गरिएको बताएको छ । उनीहरूका लागि यही १६ पुससम्मको समय दिइएको छ ।

नेपाल कर्म । १४ पुष २०८०, शनिबार १५:१७