कर्णाली प्रदेश सरकारको ५ प्रतिशत शेयर रहेकाे जगदुल्ला जलविद्युतले पायो निर्माण स्वीकृती

सुर्खेत । कर्णाली प्रदेश सरकारको ५ प्रतिशत शेयर लगानी रहेको जगदुल्ला जलविद्युत आयोजनाको वातावरणिय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) स्वीकृत भएको छ । वन तथा वातावरण मन्त्रालयले ईआईए प्रतिवेदन उपर मागेको प्रभावित क्षेत्रका नागरिकको राय सुझावलाई अन्तिमरुप दिएसँगै आयोजना निर्माणको चरणमा जान लागेको हो । हिमाली जिल्ला डोल्पामा विद्युत विकास विभागले निर्माण गर्न लागेको अर्धजलासययूक्त आयोजनाका लागि प्रदेश सरकारले गत वर्ष ११ लाख ७१ हजार ५ सय कित्ता सेयर खरिद गरेको गरेको थियो । प्रदेश सरकारले प्रति सेयर १ सयका दरले ११ करोड ७१ लाख ५० हजार सेयर वापतको रकम जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडलाई दिएको थियो ।



२० अर्ब लागतमा निर्माण हुने आयोजनाबाट दैनिक १ करोड २० लाख आम्दानीसहित राज्यलाई वार्षिक झण्डै २९ करोड राजश्व उपलब्ध हुने बताइएको छ । ईआईए स्वीकृत भएसँगै १ सय ६ मेगावाट क्षमताको आयोजनालाई विभागले विद्युत ऐन २०४९ को दफा ४ तथा विद्युत नियमावली–२०५० को नियम १५ उपर आवश्यक जाँचबुझ गरी नियम १६ मा भएको व्यवस्था बमोजिम प्रबन्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनीलाई विद्युत उत्पादन अनुमतिपत्रसमेत दिन लागेको जनाइएको छ ।

२०८६ असारभित्र सम्पन्न गर्नेगरी अगाडि बढाउन लागिएको आयोजनाको २०७८ मै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भइसकेको थियो । डोल्पाको मुड्केचुला गाउँपालिका–७, इलमा विद्युत उत्पादनगृह रहने आयोजनाको जगदुल्ला गाउँपालिका–१, को हुरीकोटमा २३ मिटर अग्लो जलाशययूक्त बाँध निर्माण हुने अयोजनाले जनाएको छ । प्रस्तावित जलविद्युत आयोजना तथा जलाशयमा हुने डुबान क्षेत्र तथा विभिन्न संरचनाहरुको निर्माणका लागि जम्मा ५२ दशमलव ७६ हेक्टर जग्गा आवश्यक पर्नेछ । जसमा निजी स्वामित्वको १३ दशमलव ५७ हेक्टर र सरकारी स्वामित्वको ३९ दशमलव २१ हेक्टर (शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र १४ दशमलव ९३ हेक्टर र २४ दशमलव २६ हेक्टर डिभिजन वन कार्यालय मातहतको वन क्षेत्र) प्रयोग गरिनेछ ।

आयोजनाको इन्टेक साइट सम्मको जलाधार क्षेत्र ६ सय ३३ दशमलव ८३ वर्गकिलोमिटर रहनेछ । जलाशयको भण्डार क्षमता ४ लाख ६५ हजार ९ सय ७० घनमिटर र जलाशयको लम्बाई ५ सय मिटर रहने छ भने, आयोजना कार्यान्वयन हुँदा जगदुल्ला (भेरी) नदीको २७ कि.मि. क्षेत्र समेटिने वन तथा वातावरण मन्त्रालयले जनाएको छ । आयोजनाको मुख्य संरचनाहरुमा आकस्मिक स्पिल्वे भएको ३ वटा द्वारसहितको २३ मिटर उचाइको बाँध, साइड इन्टेक, भुमिगत प्रकृतिको दुइवटा अप्रोच कल्भर्ट, ० दशमलव १० मि.मि. सम्मको कण थिग्रयाउने इन्टरमिटेन्ट फ्लसिंग सहितको डुफर सेटलिक बेसिन, सर्ज साफ्ट, प्रेसर साफ्ट, भुमिगत प्रकारको विद्युत गृह र घोप्टो डि आकारको ६ हजार १ सय ३५ मिटर लामो हेडरेस सुरुङ निर्माण गरिने छ ।

जगदुल्ला नदीको विभिन्न खण्ड र सो नदीका सहायक नदीमा १२ वटा बेलिब्रिज र आन्तरिक पहुँच सडकको निर्माण हुनेछन् । आयोजनाबाट जगदुल्ला गाउँपालिकाको वडा नम्बर १,२,३,४,५ र ६, मुड्केचुला गाउँपालिका वडा नम्बर ४, ५, ६, ७ र ८ प्रभावित हुने ईआईए प्रतिवेदनमा उल्लेख छ । हाल आयोजना स्थलसम्म पुग्ने पहुँचमार्ग र आवासगृह निर्माणको काम भइरहेको जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका कार्यकारी निर्देशक सञ्जय सापकोटाले बताए ।

आयोजनाले मुआब्जा वितरण, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) रिपोर्ट स्वीकृत र विद्युत खरिद बिक्री सम्झौता (पिपिए) को काम सम्पन्न गरिसकेको उनले बताए । आयोजनाका निर्देशक सापकोटाले अर्को वर्षदेखि निर्माण सुरु गर्ने बताए । उनले दुई सय ५२ रोपनी जग्गा अधिग्रहणदेखि उत्पादन अनुमतिको अन्तिम चरणमा पुगेको जानकारी दिए ।
स्वदेशी लगानीबाट निर्माण हुन लागेको आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौताका लागि फाइल अगाडि बढाइ सकेको निर्देशक सापकोटाले बताए ।

आयोजना निर्माणका लागि विद्युत उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत प्राधिकरणको ९ प्रतिशत शेयर रहेको छ । यस्तै, कर्णाली प्रदेश सरकारको ५ प्रतिशत र प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्लाको १ प्रतिशत सेयर रहेको आयोजनाले जनाएको छ । बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारणका खुला गरिने निर्देशक सापकोटाले बताए ।

तपाईको प्रतिक्रिया