सुर्खेत । दैलेखको नारायण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा दिपककुमार आचार्य हाजिर भएका छन्। (पुस–५) गते बिहीबार दिउँसो साढे दुई बजेको समयमा हाजिर भएका हुन्।

नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले आचार्यलाई हाजिर गराउन नसकिने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा चिठी लेखेका थिए। तर, मंसिर २९ गते प्रशासन मन्त्रालयले आचार्यलाई नारायण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएपछि उनि हाजिर भएका हुन्।

नगरप्रमुख शर्मा नगरपालिकामा नभएको समयमा दिपक आचार्याले प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण गरेका छन्। स्रोतका अनुसार बिहीबार मात्रै नगरप्रमुख शर्मा जिल्ला बाहिर अथात् सुर्खेतमा रहेको बुझिएको छ।
आचार्यलाई नगरपालिकाका कर्मचारीहरुले स्वागत गरेका थिए।

उक्त स्वागत कार्यक्रममा जनप्रतिनिधि कसैलाई पनि खबर नभएको नगर उप–प्रमुख तप्ता थापाले जानकारी दिइन्।
उनले आफ्नो पालिकामा प्रमुख प्रशासकीय अधिकृत आएकोबारे आफुलाई कुनै जानकारी नभएको बताइन्।
यता भर्खरै हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यले आफु नगरपालिकामा हाजिर भएको जानकारी दिए।
उनले भने, ‘कसले के भनिरहेका छन्। त्यता मेरो ध्यान छैन्। नीतिगत रुपमा काम गर्नेछु। सरकारले जिम्मेवारी दिएर पठाएकाले नारायणमा रहँदासम्म कुशलतापूर्वक आफ्नो काम गर्नेछु।’

नेपाल कर्म । ५ पुष २०८०, बिहीबार १५:५९