रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

सुर्खेत । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट–१० पिरिकोट भित्री सडक खण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो ।



ट्रयाक्टरमा जस्तापाता रहेको जनाइएको छ । दुर्घटनामा परी आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया लुकी शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए ।

यस्तै दुर्घटनामा सोही वडाको डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटले जनाएको छ । दुर्घटना गए राति १० बजे भएको कार्यालयले जनाएको छ ।

दुर्घटनामा अन्य नौ जना घाइते भएका छन् । घाइते हुनेमा आठबीसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, वडा नं १० का ३८ वर्षीय रमेश सार्की, वडा नं ८ का १४ बर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन् ।

घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उक्त ट्रयाक्टरका चालक आठबीसकोट–९ का २१ वर्षीय गोपाल विक अहिले फरार रहेको प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया