सुर्खेत । दैलेखको नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले संघीय मामिला तथा सामान्य प्रशासनलाई लेखेको चिठी यतीबेला भाइरल भएका छ। मन्त्रालयबाट खटाईएका कर्मचारीलाई हाजिर गर्न नसकिने कुरा पत्रमा उल्लेख छ।
उक्त पत्रमा पालिकाले मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले राम्रो काम गरिहेको बेला पालिकासँग कुनै सल्लाह नगरि गलत आचरण भएका दिपककुमार आचार्यालाई हाजिर गराउन नसकिने र अन्यत्र व्यवस्थापन गरिदिन अनुरोध गरिएको छ।
पत्रमा लेखिएको छ, ‘मिति २०८०/८/१२ गते त्यहाँ मन्त्रालय बाटै खटाईएका प्रमुख प्रशसकीय अधिकृत बमबहादुर केसी (क.सं.नं. १६०६५७) ले प्रभावकारी कार्यसम्मपादन गरिरहेको अवस्थामा कुनै सल्लाह नगरी विभिन्न स्थानीय तहमा विवादित भएका दिपककुमार आचार्याको गलत आचरण बारे अवगत हुँदा–हुँदै निजलाई हाजिर गराउन नसकिने हुँदा अन्यत्र व्यवस्थापन गरिदिन हुन अनुरोध छ।’

नगरपालिकाले मन्त्रालयलाई उक्त पत्र लेखेपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भएका छन्। पत्र लेखेपछि स्थानीयहरुले नगरप्रमुख शर्माको आलोचना गरेका छन्।
स्थानीय राजेशकुमार हमालले फेसबुकमा लेखेका छन्, ‘नगरप्रमुखबाट हामी कस्तो समाजको अपेक्षा गर्न सक्छौ। कानुनले कुनै पनि ब्यक्तिलाई कुसुरदार हो नभने सम्म कसुर दार मानिदैन तर, नारायण नगर प्रमुखले कसुरदार नै ठहर गरि संघिय सरकारलाई नै ठाडो चुनौती पो दिएछ्न। आचरण हिन नै भएको भए अख्तियार ले अहिले सम्म कहाँ हेरेको रहेछ कुन्निरु यो पत्र हेर्दा लाज पनि लजायो।’

यता नगरप्रमुख शर्माले गलत आचरण भएको व्यक्ति भनेर आफुले नभनेको बताए। उनले भने, ‘त्यस्तो मैले केही भनेकै छैन्। मन्त्रालयलाई उहाँको विषयमा जानकारी हुँदा–हुँदै किन पठाउनु भएको भनेको मात्रै हो। अरु त्यस्तो हाम्रो मनशायगत विषयमा उहाँप्रति आग्रह–पूर्वाग्रह केही पनि छैन्।’

नगरप्रमुख शर्माले एउटा अधिकृत हुँदा–हुँदै तीनको सरुवा नभएर अर्को अधिकृत किन पठाएको हो बरु अन्त कतै पठाउनुहोस् भनेर मन्त्रालयलाई भनेको बताए। उनले भने, ‘हिजो पठाएको चिठी हो। मन्त्रालयले कुनै रिप्लाई आएको छैन्।’
यता दिपककुमार आचार्यको सरुवा नारायण नगरपालिका दैलेख भएपनि उनले हाजिरका लागि नगरपालिका पुगेका छैनन् भने पालिकालाई कुनै सम्पर्क गरेका समेत छैनन्।
संघीय मामिला मन्त्रालयलका उप–सचिव तथा स्थानीय तह कर्मचारी प्रशासन शाखा प्रमुख भोजराज घिमिरेले नगरपालिकाले पठाएको चिठी प्राप्त गरको बताए। उनले भने, ‘नगरपालिकाले हामीलाई पठाएको चिठी प्राप्त गरेका छौँ। गलत आचरण पुष्टि नभएर कहाँ भन्न पाइयो नि। कि पुष्टि गर्नुप¥यो। कि कारबाही भएको हुनुप¥यो नि।’
यस्तै, नारायण नगरपालिकामा हाल प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत बमबहादुर केसीसँग समन्वय भएर नै दिपककुमार आचार्यालाई खटाईएको उप–सचिव घिमिरेले जानकारी दिए। उनले भने, ‘नारायण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत चाँही उप–सचिव सरहको हो। सरुवा गरेको कर्मचारी जानुहुन्छ। यदी जानु भएन् भने फेरी मन्त्रालयमा आउनुहुन्छ यसमा समस्या छैन्।’ उनले थपे, ‘मन्त्रालयले कर्मचारीलाई खटाएको छ। उहाँकाे विषयमा पछि कुरा केही आएपछि छलफल होला नी।’
यस्तै, यस नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भने उप–सचिव सरहको ताेकिएकाे छ। तर, हाल प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत बमबहादुर केसी अधिकृत सरहका कर्मचारी हुन्।

नेपाल कर्म । ४ पुष २०८०, बुधबार १३:४१